मनहर्वा, ४ असोज– विश्वकर्मा भगवानको मुर्ति सेलाउन जाँदा कलैयाको पचानपुरइनर्वामा एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर– १९ पचानपुरईनर्वा बस्ने नैमुदिन मियाँका ३० वर्षीय छोरा मुख्तार मियाँ अन्सारी रहेका छन् । शुक्रबार अपरान्ह करिब साढे ६ बजेतिर विश्वकर्मा भगवानको मुर्ति सेलाउन सोही ठाउँमा रहेको माछा पोखरीमा जाँदा मुर्ति सेलाउने क्रममा अन्सारी बेपत्ता भएका थिए ।
मुर्ति सेलाउने क्रममा हराएको भन्ने खबर प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कञ्चनराज चलको कमाण्डमा गएको टोलीले स्थानीयबासीहरुको सहयोगमा माछा मर्ने जाल हाली पोखरीमा खोज तलास गरेको थियो ।
खोजतलासको क्रममा अन्सारीको शव शुक्रबार राति १२ बजे फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
यसैबीच सिम्रौनगढ सम्बाददाताले पठाएको समाचारअनुसार जिल्लाको पचरौता नगरपालिकाको वडा नम्बर– ६ स्थित चिकनिपकडियाको तियर नदीको खोलामा डुबेर १३ वर्षिय १ बालक शनिबार बिहानबाट बेपत्ता भएका छन । स्थानीय सर्वजित रामका छोरा लुटन राम बेपत्ता भएका हुन ।
खोलामा पौडी खेल्न भनेर बिहान ११ बजे घरबाट निस्केका उनी नर्फिएपछि खोजतलास शुरु गरिएको र अबेलासम्म पनि फेला पार्न नसकिएको स्थानीय नवल सहनीले बताउनुभयो । ईलाका प्रहरी कार्यलय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र तामाङको कमाण्डमा प्रहरी र स्थानीयले बालकको खोजतलास जारी राखेका हुन ।