राजकुमार यादव
मौलापुर,रौतहटको मौलापुर नगरपालिका– ६ पथरा बुधराममा सञ्चालित श्री खानेपानी आयोजनाको कम्पाउण्डवाल निर्माणमा गम्भीर अनियमितता भएको आरोप लागेको छ ।संघीय सरकार अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगञ्जबाट ४० लाख रुपैयाँ बजेट प्राप्त भएको उक्त आयोजना उपभोक्ता समितिबाट सञ्चालन गरिएको हो ।
उक्त आयोजनामा उपभोक्ता समितिका अध्यक्ष एवं वडा अध्यक्ष प्रत्यासी विरचन राम, सचिव शान्ति देवी र कोषाध्यक्ष आशुतोष साह रहेका छन् । आयोजनाको निर्माण कार्य अपूर्ण रहेको, रंगरोगन नगरेको र माटो पुर्ने काम समेत अधुरो रहेको स्थानीयको गुनासो छ ।

उपभोक्ता समितिबाट ६ लाख रुपैयाँको चेक गौर नगरपालिका– ४ टिकुलियाका संजय सहनीले लिएको पुष्टि भएको छ । साथै, निर्माणमा खटिएका मजदुरलाई १२ घण्टा काम गराइए पनि ८ घण्टाको मात्र ज्याला दिएको आरोप आम जनता पार्टीका केन्द्रीय सदस्य तथा विधायक पदका प्रत्यासी मनोज यादवले लगाउनुभएको छ ।तर, उपभोक्ता समिति स्रोतले संजय सहनी र मनोज यादव आयोजनाको औपचारिक सदस्य नै नरहेको स्पष्ट पारेको छ । निर्माणमा प्रयोग भएको छड, सिमेन्ट, इट्टा तथा गिट्टीको रकम अझै तिर्न बाँकी रहेको जनाइएको छ ।

यसैबीच, टिकुलिया निवासी संजय सहनीले विधायक प्रत्यासी मनोज यादवमाथि १० लाख ६३ हजार रुपैयाँ लिएर अपारदर्शी ढंगले कार्य गरेको आरोप समेत लगाउनुभएको छ ।यस आयोजनामा देखिएको अपारदर्शिता र आपसी आरोप प्रत्यारोपले स्थानीयमा निराशा पैदा गरेको छ । खानेपानीको लागि आएको बजेटमा निर्माण समाग्री खरिद गरेको बील उपभोक्ता समितिको नाउँमा बिल जारी गर्नु पर्नेमा जय माता दी ट्रेडर्सले उपभोक्ता समितिको सरोकार नै नभएको व्यक्ति रौतहट जिल्ला अदालतबाट दोषी ठहर भएको संजय सहनीको नाउँमा ९ लाखको बील जारी गरेकोले आफैमा शंकास्पद रहेकोले उच्च स्तरीय रूपमा छानविन गर्न समेत यादवले माग गर्नुभएको छ ।लागु औषध नाइट्रोभेट मुदामा नेपाल पत्रकार महासंघको कोषाध्यक्ष समेत रहेका सहनीलाई रौतहट जिल्ला अदालतले तीन वर्ष कैद र १ लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।

Leave a Reply