वीरगञ्ज,जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि वीरगञ्जमा जारी कर्पm्युलाई निरन्तरता दिने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा मंगलवार बसेको सर्वदलीय–सर्वपक्षीय बैठकपछि सोही साँझ बसेको सुरक्षा समितिको बैठकले अवस्था अझै पूर्ण रुपमा नियन्त्रणमा आइनसकेकोले जारी कफ्यूलाई हालका लागि निरन्तरता दिने निर्णय गरिएको बैठकमा सहभागी सहायक प्रजिअ शिव लम्सालले जानकारी दिनुभयो ।

कर्फ्युको बीचमा मंगलवार पनि वीरगञ्जको अवस्था दिनभर तनावग्रस्त रहेको थियो । कर्फ्यु लागे पनि वीरगञ्जका ठाँउ ठाँउमा हिन्दुवादीहरुले टायर बालेर प्रदर्शन गरेका थिए । घडिअर्वामा मंगलवार बिहान टायर बालेर प्रदर्शन गर्नेहरुलाई प्रहरीले लखेट्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको थियो । त्यसक्रममा त्यहाँबाट प्रहरीले पाँच जना युवालाई नियन्त्रणमा लिएको थियो । मंगलवार वीरगञ्जका विभिन्न स्थानबाट कर्प उल्लंघन गरेको आरोपमा प्रहरीले ३० भन्दा बढीलाई नियन्त्रणमा लिएको थियो ।यसअघि सोमवार वीरगन्जको इदगाह चोकमा भएको झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरि ११ जना सुरक्षाकर्मीसमेत घाइते भएका थिए ।
यसैबीच जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलवार बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले वीरगञ्जमा सदियौंदेखि कायम जाति, भाषा, धर्म, समुदायबीचको एकतालाई अझ मजबुत बनाउने निर्णय गरेको छ ।वीरगञ्जमा दुई फरक धर्मिक सम्प्रदायबीचको द्वन्द्वका कारण सोमवारदेखि उत्पन्न तनावलाई साम्य पार्न भनेर मंगलवार बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले नेपाली जनताबीचको सुसम्बन्ध र एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्न सामुहिक प्रयास गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै बैठकमा वीरगञ्जमा रहेका धार्मिकस्थलहरुमा नाराबाजी, जुलुश लगायतका उत्तेजक कार्यक्रम नगर्ने नगराउने र यस्ता किसिमका गतिविधि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई सहयोग गर्ने सहमति पनि भएको बैठकमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी गराउनुभयो ।यसैगरी खुल्लमखुल्ला रुपमा डिजे बजाउने र चर्काे स्वरमा माइक बजाउने, राँके जुलुश, लाठी र भाला सहितको जुलुश निकाल्ने लगायतका क्रियाकलाप गर्ने विरुद्ध कानुन बमोजिम कारबाही गर्न प्रशासन समक्ष अनुरोध गर्ने र यसमा सबै दलले सहयोग गर्ने सहमित पनि भएको उहाँले बताउनुभयो ।

जिल्लाको शान्ति सुरक्षा र अमन चयनलाई खलल पर्ने किसिमका धार्मिक र सामाजिक सद्भाव बिगार्ने एवंम द्वन्दलाई उस्काउने प्रकारका अवाञ्छित गतिविधि साथै धार्मिक, सम्प्रदायिक रयाली, जुलुश, बन्द हडताल लगायतका गतिवधि कुनै पनि संघसंस्था र समुदायले नगर्ने र यसमा सबै जानीतिक दल, नागरिक समाज र संघसंस्थाले सहयोग गर्ने सहमति बैठकमा भएको लम्सालले बताउनुभयो ।यस्तै सामाजिक सञ्जालमा कुनैपनि जातजाति, धर्म वा समुदायलाई लक्षित गरी नकारात्मक कुराहरु पोष्ट गर्ने गराउने उपर प्रशासनले कडा कारबाही गर्ने निर्णयपनि भएको सहायक प्रजिअ लम्सालले बताउनुभयो ।
सहायक प्रजिअ लम्सालले सोमवार साँझदेखि वीरगञ्जमा जारी कर्फ्युको विषयमा भने जिल्ला सुरक्षा समितको बैठक बसेर आवश्यक निर्णय लिने बताउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको बैठक प्रतिनिधि सभा सदस्य प्रदीप यादव, प्रदेश सरकारका पर्यटन राज्यमन्त्री रहबर अन्सारी, वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह, नेकपा एमालेका जिल्ला संयोजक विश्वम्भर शर्मा, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, नेपाली कांग्रेसका नेता नरेन्द्र साह, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष बालगोपाल थापा, लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा, राप्रपाका पन्नालाल पटेल, पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा, सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्य, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, महाअसंघका उपाध्यक्ष युवराज खड्का लगायतको सहभागीता रहेको बैठकमा सहभागी जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिनुभयो ।

Leave a Reply