कलैया,बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद ज्वालाकुमारी साहले मन्त्री पदको शपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्री साहले सोमवार पद तथा गोपनियताको शपथ लिनुभएको हो ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको नयाँ सरकारमा नेकपा एमालेले साहलाई मन्त्री बनाएको हो । दाहालको नेतृत्वमा बनेको आठ सदस्यीय मन्त्रीपरिषदमा सपथ लिने साह मात्रै महिला हुनुहुन्छ ।एमालेका विष्णु पौडेल उपप्रधानसहित अर्थ, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतीक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानसहित गृह मन्त्री बनेका छन् । यसैगरी पछि जिम्मेवारी तोकिने गरी साहसहित एमालेबाट राजेन्द्र राई, दामोदर भण्डारी, जनमत पार्टीका अब्दुल खान मन्त्री भएका छन् ।एमालेले सरकारमा चार मन्त्री पठाउने क्रममा क्रममा साह पहिलो चरणमा नै छनौटमा पर्नुभएको हो । गठबन्धनविरुद्ध एक्लै चुनाव लडेर साह प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुुनुभएको थियो । साह निर्वाचित भएको बारा क्षेत्र नम्बर ३ बाट एमालेले क्लिनस्वीप गरेको थियो ।नेकपा एमाले पोलिटव्युरो सदस्य समेत रहनुभएकी साह माओवादी पार्टीबाट संविधानसभा सदस्यमा समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको थियो । २०६६ मा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री बन्नुभएकी साह पुनः पर्यटन राज्यमन्त्री बन्नुभएको थियो ।२०७४ सालको आमनिर्वाचनमा बारा क्षेत्र नम्बर ३ क बाट मधेस प्रदेश सभा सदस्यमा निर्वाचन निर्वाचित हुनुभएको थियो । तत्कालिन नेकपा विभाजनपछि माओवादी केन्द्र छाडेर साह नेकपा एमालेमा बस्नुभएको थियो । माओवादीले कारबाही गरेपछि साहको प्रदेश सभा सदस्य पद गुमेको थियो । तर, त्यसको केही समयपछि एमाले अध्यक्ष एंव तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई संघीय सरकारको कृषी मन्त्री बनाउनुभएको थियो ।


















