वीरगन्ज,वीरगन्जस्थित सर्वोत्तम स्टील कम्पनीको भट्टीमा बिस्फोट हुँदा १२ जना श्रमिक घाइते भएका छन । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ भने ५ जनाको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ ।
घाइते हुनेमा भारत बिहार घर भएका ५२ वर्षीय विनोद पाण्डे, युपी लखनउका ५२ वर्षीय सन्तोष कुशवाहा, २० वर्षीय सुशील कुमार, ३७ वर्षीय मानसिया, ३० वर्षीय रामपुकार यादव, बारा छातापिपरा बस्ने २२ वर्षीय टिंकु दास छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भारत खुशीनगरका ३५ वर्षीय धिरु सहनी, ठेगाना नखुलेका २६ वर्षीय चिंकु दास, भारत युपी लखनउका १८ वर्षीय अमरनाथ सहनी, भारत बिहारका २१ वर्षीय दिपक कुमार र भारत दरभंगा बस्ने १८ वर्षीय रविंकु दासको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ ।
घाइते हुनेमा अधिकांश भारतीय नागरिक रहेको र उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । कम्पनीको फलाम पगाल्ने भट्टी पड्किँदा तरल पदार्थ उछिट्टिएर लाग्दा श्रमिकहरु घाइते भएको उहाँले बताउनुभयो । वीरगन्ज महानगरपालिका वडा नम्बर– २२ मनियारीमा रहेको उद्योगमा बिहीबार दिउँसो पौने एक बजे बिष्फोट भएको थियो । उद्योगमा बिस्फोटपछि लागेको आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उद्योगका सुरक्षा गार्ड र प्रहरीले भने भठ्ठी विस्फोट भएको स्थानसम्म सन्चारकर्मीलाई जान रोक लगाएका थिए । यस्तै घटनाबारे थाहा पाएर उद्योगमा पुगेका मजदुरका आफन्त र गाँउलेहरुलाई पनि प्रहरी र उद्योगका सुरक्षा गार्डले उद्योगको मूल प्रवेशव्दारमा नै रोकेर राखेका थिए । व्यवसायिक घराना सौरभ समुहले मनियारीमा सन्चालनमा ल्याएको देशकै सबै भन्दा ठूलो स्टिल उद्योगले गत साउन ५ गतेदेखि बिलेट र फलामको डण्डी उत्पादन गर्दै आएको छ ।