गौरवमय २२ वर्षको यात्रा
पाठकबृन्द, आजभन्दा ठीक २१ वर्षअगाडि बारा जिल्लाको कलैयामा रोपिएको कृपा पत्रिका आज लर्के जवान हुदै अगाडि बढ्दै गइरहेको छ । हेर्दाहेर्दै बारा जिल्लाबाट प्रकाशित भएको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिका पनि युवा अवस्थामा प्रवेश गरी अगाडि बढ्दैछ भन्न पाउदा हामीलाई गर्वको अनुभूति भइरहेको छ । हुनत, जसरी मानिस जन्मन्छ, बाल्यकाल पूरा गर्दै किशोर अवस्था पनि पूरा गरी युवा अवस्थामा प्रवेश गर्दछ, त्यसरी नै पत्रिकालाई हुर्काउनका लागि पनि हामीले कम्ति संघर्ष पक्कै गर्न परेको छैन । तैपनि पत्रिका प्रकाशन निम्ति यहाँहरुको साथ, सद्भाव र ममताका कारण सबै पीडा भुलेर पनि शितल छहारीमा बसे झैं लाग्ने गर्दछ ।
यहाँहरुले देखाउने ममताका कारण नै पत्रिका प्रकाशनमा झेल्न परेको पीडालाई भुसुक्क बिर्सनु परेको छ । यसो भन्दैमा पत्रिका संचालनका लागि चुनौति नै थिएनन् र छैनन् भन्ने पनि होइन । बाराको उर्वर भूमिमा पत्रिका प्रकाशन गरेर समाजलाई रुपान्तरण गर्ने अभियान साच्चै भन्ने हो भने फलामको चिउरा चपाउनु जस्तै थिए जुन चानचुने ध्येय र उद्देश्यले संभव हुने कुरै भएन । तैपनि हामी यो जोखिम मोलेरै अगाडि बढ्यौं ।
बाराका नागरिकहरुको सूचनाको भोक मेटाउनका लागि फलामकै चिउरा चपाएर नै भएपनि यो अभियान संचालन गर्नुपर्छ भनेर कृपा प्रकाशन समूहले तपाईलाई सूचित गराउने लक्ष्य लियो र आज युवा अवस्थामा छ । २१ वर्षदेखि निरन्तर तपाईको माझमा हामी अविचलित छौं । बारामा केही वर्षअघि मात्रै छापा माध्यमको रुपमा हामी मात्रै थियौं । जिल्लामा अब हामी मात्रै एक्लै छैनौं । अहिले हामी जस्तै दैनिक पत्रिका नै बाराको कलैयाबाट प्रकाशित छन् । जिल्लामा रेडियोहरु पनि गाउँसम्म खुलेका छन् । कृपा दैनिकले शुरु गरेको सूचनाको हक आम नागरिकसम्म पु¥याउने अभियानमा अन्य संचारमाध्यामले साथ दिएको बुझाइ हाम्रो हो र संचारमाध्यामसंगै संचारकर्मीको पनि विस्तार र विकास हुनुमा हामीलाई जहिले पनि गर्व अनुभूति हुन्छ । र हामी यसको श्रयको पनि हकदार छौं । जिल्लामा संचार माध्यमहरुको विकासले हामीलाई अझै बढी जिम्मेवार र अभिभाकत्वको भुमिकामा रहनका लागि प्रेरित गरेको महशुस हुन्छ ।
जिल्लाको सबैभन्दा पुरानो दैनिक पत्रिका भएका नाताले जस्तोसुकै कठिन अवस्थामा पनि पाठक वर्गको सूचना पाउने अधिकारलाई हामी कदापि मार्न दिने छैनौं । अभिभाककत्व भूमिकामा पनि कुनै कन्जुस निभाउनपछि पर्ने छैनौं ।
यहाँहरुको अपार मात्रै होइन अनुपम ममता अनि साथ र सहयोगले नै कृपा दैनिक आज यो अवस्थामा पुगेको भन्न पाउदा हामीलाई निकै गर्वको महसुस हुन्छ । कृपा दैनिक बारामा संचालन गर्नु र प्रकाशन गर्नुको एक मात्र लक्ष्य भनेको बाराको समाजलाई सूचनाको पहुंचमा ल्याउनु नै थियो र यो लक्ष्यमा कृपा दैनिक सफल भएको छ भन्ने कुरा यसैपनि प्रमाणित भएको छ ।
कृपा दैनिक पत्रिका अन्य क्षेत्र जस्तै विगतमा आएको विश्वब्यापी कोरोना भाइरस अनि त्यसको असरबाट पनि अछुतो रहन सकेन । कृपा दैनिक संचालक परिवार, पत्रकार तथा कर्मचारी समेत यस भाइरसबाट अछुतो नरहेपनि केरोनाको कहरमा समेत पत्रिका बन्द नगरी सूचना प्रवाह गर्दैआएका थियौं । आर्थिक रुपबाट हामी निकै मारमा परेपनि यहाँहरुको सूचनाको भोक मेटाउने काममा हामी कहिल्यै पछाडि परेका छैनौं र पर्ने पनि छैनौं । हामी फेरि पनि यो कुरा दोहो¥याएर भन्न चाहन्छौं कि– यो सबै तपाईहरु सम्पूर्ण पाठकको साथ, सहयोग र सुभेच्छाले नै शंभव भएको हो । आगामी दिनमा पनि यि कुरा प्राप्त भयो भने हाम्रो लागि धेरै हुनेछ ।
अन्ततः हामीले २१औं वार्षिकोत्सव मनाइरहदा वा २२औं वर्षमा प्रवेश गरिरहदा फेरि हामीलाई सहयोग गर्ने विज्ञापनदातालाई कहिल्यै भुल्न सक्दैनौं । नियमित रुपमा विज्ञापन उपलब्ध गराइ पत्रिकाको प्राण धान्न भूमिका निभाउनु हुने तपाई विज्ञापनदाता, नियमित पत्रिका पढेर पत्रिकामा रहेका कमीकमजोरी औंल्याइदिने तपाई सचेत पाठक वर्ग, बाराका सबै संचारकर्मीहरु, जसले कृपा पत्रिकाका लागि कुनै न कुनै हिसावले योगदान गर्दैआउनु भएको छ अनि पत्रिका प्रकाशनमा स्थापना होस् या पछिल्लो समयमा साथ दिने सबै कर्मचारी तथा कृपा दैनिकमा आवद्ध टोलीलाई धन्यवाद दिदै आगामी यात्राका लागि पनि कृपा दैनिक सदैव उहाँहरुको साथमा रहन चाहन्छ ।
साथै, कृपा दैनिकले स्थापना गरेको उमादेवी स्मृति पत्रकारिता पुरस्कार र चन्द्रप्रसाद स्मृति पत्रकारिता परस्कार विगत केही वर्ष कोरोनासहित प्रधान सम्पादकको निधनका कारण अवरुद्ध भएकोमा यस वर्षबाट पुन ः सुचारु भएको र बाराको निजगढमा फागुन ५ गते विशेष कार्यक्रमको रहेको जानकारी गराउँदै, पुनः एक पटक सबैमा आभार । धन्यवाद ।
सविता चालिसे
प्रवन्ध संचालक


















