सिमरा –  बाराको जीतपुरसिमरा उपमहानगरपालिका– २१ अमलेखगञ्जबाट ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइडसहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका– १६ निवासी अन्दाजी २० वर्षीय आनन्द चौरसिया रहेका छन् । प्रहरीका अनुसार वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बसलाई अमलेखगञ्जस्थित सडकखण्डमा रोकेर चेकजाँच गर्ने क्रममा ट्रामाडोल हाइड्रोक्लोराइड बरामद भएको हो ।

बसको हुडमा राखिएका दुईवटा झोलाभित्रबाट १८ हजार ३ सय पिस ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ । उक्त झोला बसमा सवार चौरसियाको रहेको खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका चौरसियामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीले बरामद लागूऔषध कहाँबाट ल्याइएको थियो र कहाँ लैजाँदै गरिएको थियो भन्ने विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ । साथै, घटनामा अन्य व्यक्तिको संलग्नता भए÷नभएकोबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply