निबर्तमान सभामुख कृष्णबहादुर महरा हाल जेलमा छन् । उनी दशैं ताका जेलमा परेपछि पद रिक्त भएको हो । संघीय संसद् जनताको आवाज उठाउने सशक्त थलो हो । जनताको समस्या समाधान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराउने माध्यम पनि संसद् नै हो । संघीय संसद्लाई जनताको सर्वोच्च निकायका रूपमा समेत लिने गरिन्छ ।राष्ट्रिय महत्व विषय, जनताको दैनिकीसँग सरोकार राख्ने समस्या उठान गर्ने र बहस गर्ने निकाय संसद् नै भएकाले यसमा हुने निर्वाचन, नियुक्ति र छनोट प्रक्रियालाई प्राथमिकताका साथ हेरिनुपर्छ ।
लोकतान्त्रिक गणतन्त्र सही अर्थमा जनतासम्म पुर्याउने हो भने प्रतिनिधिसभा नै त्यस्तो ठाउँ हो जहाँ व्यावहारिकरूपमा त्यसको अभ्यास हुनुपर्छ । नागरिकलाई सार्वभौमसत्ता सम्पन्न भनिन्छ, उनीहरूले जनप्रतिनिधिलाई मतदान गरेर त्यसको प्रारम्भ गर्दछन्, सही अर्थमा कार्यान्वयन प्रतिनिधिसभाबाटै हुने गर्दछ ।जनप्रतिनिधिमार्फत नै सार्वभोमसत्ताको प्रयोग जनताबाट हुने गर्दछ । यस्तो स्थानलाई झिना–मसिना कारण देखाएर अपूर्ण बनाइराख्ने काम कदापि मान्य हुन सक्तैन । संसद्मा सांसदहरूले उठाउने विषयको सम्बोधन गर्ने दायित्व र कर्तव्य सरकारको हो ।
संसद्मा सांसदहरूले नीति निर्माण गर्ने र सरोकारका मुद्दामा बहस गर्ने गर्दछन् । जनताको ज्वलन्त समस्यालाई उठाउने सशक्त निकाय संसद् बैठक नियमित सुचारु हुनुपर्छ । तर, सभामुखको अभावमा विगत लामो समयदेखि अन्योल सिर्जना भएको छ ।संसद् सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएको लामो समय व्यतीत भइसक्यो । सभामुुखमा सहमति नहुदा संसद बैठक समेत बस्न सकेको छैन । त्यसैले सभामुखमा विवाद कायम गरिनु राम्रो होइन ।