सिमरा,लामो समयदेखि अधुरो पूर्व–पश्चिम राजमार्गको पथलैया–निजगढ खण्डको दुधौरा खोला पुल आगामी पुसभित्र निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माणको स्थलगत निरीक्षण गर्नेक्रममा पुल निर्माणको ठेक्का पाएको महादेव खिम्ती—हिराचन उपक्रम (जेभी)का रवि सिंहले सो प्रतिबद्धता जनाउनुभएको हो । राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै स्थानीयले गुनासो गर्दैआएका छन ।
मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने तालिका, बाँकी काम, समस्या लगायत विषयमा सडक विभागका महानिर्देशक र निर्माण व्यवसायीसँग छलफल गर्नुभएको थियो । मुख्य राजमार्गकै पुल लामो समयदेखि निर्माण हुन नसक्दा यात्रुले सास्ती बेहोर्नु परेको उल्लेख गर्दै मन्त्री घिसिङले तत्काल सम्पन्न गर्नुपर्ने बताउनुभयो ।ठेकेदार सिंहले पछिल्लो पटक थप गरिएकै समयमा पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका सिंहले पुसभित्र पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने बताउनुभएको थियो ।
चार लेनको ९० मिटर लम्बाइ भएको कंक्रिट पुल निर्माणका लागि महादेव खिम्ती—हिराचन उपक्रम (जेभी)सँग २४ असार २०७५ मा १७ करोड २२ लाख (कर सहित)मा ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण असार २०७८ भित्र सम्पन्न गर्नुपर्ने थियो । पछिल्लो म्याद थप बमोजिम पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्नुपर्नेछ । पुलको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।
त्यसैगरी हुलाकी राजमार्गअन्तर्गत बाराको मनमत—कलैया—मटिरवा सडक खण्ड तत्काल सम्पन्न गर्न स्थानीय बासिन्दाले मन्त्री घिसिङ्गसंग माग गरेका छन् ।मधेस प्रदेशको बारा, पर्सा र रौतहट जिल्लाका सडक, सिँचाइ र विद्युत् आयोजनाहरूको निर्माण प्रगतिको स्थलगत निरीक्षणको क्रममा बिहीवार कलैया आइपुग्नुभएका मन्त्री घिसिङ समक्ष स्थानीयले जिल्ला सदरमुकामको सडक नबन्दा ठूलो सास्ती बेहोर्नु परेको बताएका थिए । मन्त्री घिसिङले सडक रुग्ण अवस्थामा रहेको सडक निर्माणको ठेक्कालाई सरकारले उपयुक्त निर्णय गरी अगाडि बढाउने बताउनुभएको थियो ।
करिब चार किलोमिटर सडक स्तरोन्नतिका लागि २७ पुस २०७८मा सप्तकोशी जलाधार—ओम साई एण्ड कम्पनी उपक्रम (जेभी), काठमाडौंसँग २२ करोड ३१ लाख रुपैयाँ (कर सहित)मा ठेक्का सम्झौता भएको थियो ।
१ माघ २०७९ भित्र निर्माण सम्पन्न गर्ने गरी सुरुवाती ठेक्का सम्झौता भएकोमा दोस्रो पटक थपिएको म्याद ४ चैत २०८२ मा सकिँदैछ । सडक निर्माणको भौतिक प्रगति करिब २० प्रतिशत मात्र छ ।
निर्माण व्यवसायीको लापरबाहीका कारण सडक निर्माण अलपत्र छ । ठेक्का अन्त्य किन नगर्ने भन्दै गत ३१ असोजमा निर्माण व्यवसायीलाई सार्वजनिक स्पष्टीकरण सोधिएको थियो । त्यसपछि निर्माण व्यवसायी निर्माणस्थलमा परिचालित भएको तर हालसम्म पनि उल्लेखनीय प्रगति हासिल नभएको अवस्था छ ।

















