कलैया,बाराबाट प्रहरीले दुई करोड ६ लाख मूल्य बराबरको सामानसहित ट्रक र पिकअप नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको फरकफरक स्थानबाट २ करोड ६ लाख ९४ हजार ५५० मूल्य बराबरको ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीबाट खटिएको टोलीले चलाइएको जाँच अभियान अन्तर्गत बिलबिजकको भन्दा बढी लोड सामान पाइएपछि दुइवटै ट्रकलाई पक्राउ नियन्त्रणमा लिइएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका– २३ बैराटपुरबाट ५४ बोरा प्याज बरामद गरेको प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङले जनाउनुभयो ।
उहाँका अनुसार कलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको लु १ च ९७५९ नम्बरको पिकअपबाट एक लाख ८ हजार मूल्यको प्याज गरिएको हो ।
यसैगरि इलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले जितपुरसिमरा उपमहानगरपालिका– २१ अमलेखगञ्जबाट इलेक्ट्रोनिक्स, नन् इलेक्ट्रोनिक्स सामान लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।वीरगञ्जबाट काठमाण्डौँतर्फ जादैँ गरेको ना ६ ख ५४९१ नम्बर र बा १ ख ९९०९ नम्बरको एक करोड ६५ लाख बराबरको सामान बरामद भएको प्रहरीले बताएको छ ।त्यसैगरी बीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ना ३ ख ५९६१ नम्बरको ट्रकबाट ४० लाख भन्दा बढीको सामान बरामद गरिएको प्रहरी विज्ञप्तिमा उल्लेख छ ।बरामद सबै सामानसहित ट्रक आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरी भनाई छ ।
यसैबीच पर्सा प्रहरीले बिल बिजकभन्दा बढी लोड रहेको औषधी तथा खुद्रा सामानसहित २ वटा ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरीले छुट्टाछुट्टै स्थानमा गरेको जाँचमा बिल बिजकभन्दा बढी लोड रहेको मालसामानसहित २ वटा ट्रक बरामद गरेको हो ।
१ करोड ३९ लाख मूल्य बराबरको सामानसहित २ वटा ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिनुभयो । प्रहरीको टोलीलेजिल्लाको परवानीपुरबाट बिल बिजकभन्दा बढी लोड रहेको औषधी तथा खुद्रा सामानसहित २ वटा ट्रक नियन्त्रणमा लिएको हो ।वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको ना ५ ख ८५६५ नम्बरको ट्रक बाराको परवानीपुरमा जाँच गर्दा बिल बिजकभन्दा बढी लोड रहेको औषधी पाइएकोले नियन्त्रणमा लिइएको प्रहरी भनाई छ ।
उक्त मालबाहक ट्रकबाट ७० लाख ४३ हजारभन्दा बढी मूल्य बराबरको सामान बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता थापा बताउँनुहुन्छ ।यसैगरी विहान वीरगञ्जको गण्डकबाट बिल बिजकभन्दा बढी लत्ताकपडा लोड रहेको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ ।वीरगञ्जबाट झापातर्फ जाँदै प्रदेश १–०१–००१–ख ३९१५ नम्बरको ट्रकबाट बिल बिजकभन्दा बढी लोड रहेको लत्ताकपडा बरामद गरिएको पर्सा प्रहरीले बताएको छ ।उक्त ट्रकबाट प्रहरीले ६९ लाख १५ हजार भन्दा बढीको सामान बरामद गरेको जनाएको छ । पक्राउ परेका २ वटै ट्रक आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको पर्सा प्रहरी प्रवक्ता थापाको भनाई छ ।



















