निजगढ,निजगढ नगरपालिका वडा नम्बर १० लाल गाउँमा शनिवार लाल आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरिएको छ । निजगढ नगरपालिकाका नगरप्रमुख सुरेशकुमार खनालले केन्द्रको उदघाटन गर्नुभएको हो ।

स्थानीय मञ्जु पौडेलले १० धुर र हिरा बहादुर मोक्तानले ५ धुर गरि कूल १५ धुर जग्गा दान गरेसंगै २० लाख १० हजार लागतमा दुई वटा शौचालय सहित केन्द्रको ४ कोठे पक्की भवन निर्माण सम्पन्न भएको हो । स्वास्थ्य सेवा केन्द्रमा १ जना हेल्थअसिस्टेन्ट, १ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगी रहने निजगढ नगर स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दंै नगर प्रमुख खनालले निजगढ स्वास्थ्य सेवाको क्षेत्रमा निक्कै अघि बढी रहेको बताउनुभयो । उहाँले सरकारको नीति अनुसार सबै वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र विस्तार गर्ने क्रमले गति लिई रहेको पनि बताउनुभयो । स्वास्थ्य सेवा केन्द्रलाई उपलब्ध गराउनु पर्ने सबै सेवा सुविधा निजगढ नपाले उपलब्ध गराउने बताउदै सरकारले ७२ थरिका औषधी निःशुल्क उपलब्ध गराउदै आई रहेपनि नगरपालिकाले थप ३३ थरिका औषधी खरिद गरि सेवाग्रहीहरुलाई १ सय ५ थरिको औषधी निःशुल्क प्रदान गर्दै आइरहेको पनि नगर प्रमुख खनालले जानकारी गराउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष पदमबहादुर मोक्तानले स्वास्थ्य केन्द्रको उद्घाटनपछि समान्य रुघा, खोकी, ज्वरो आउदा पनि उपचारको लागि अन्यत्र धाउनु पर्ने समस्याबाट स्थानीय सर्वसाधारण मुक्त बनेको बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि अमिर सिंङ्गतान, सरिता रिमाल, मखनी बिक, जमानसिंह घलान, समाजसेवी पेमासिद्धी लामा, कुमार मोक्तान, हिरा बहादुर लामा, भाईकाजी श्रेष्ठ, रेशम लामा, वडा सचिव भगवती रिमाल लगायतको उपस्थिति रहेको थियो । जग्गादाताका छोरा जनक पौडेलको सभाअध्यक्ष भएको उद्घाटन कार्यक्रममा चन्दा लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने अर्का जग्गादाता हिराबहादुर मोक्तानले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here