वीरगञ्ज,वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी भर्ना प्रकरणको विषयलाई लिएर आक्रोशित विद्यार्थीहरूले आइतवार क्याम्पस परिसरमा विरोध प्रदर्शन गर्दै क्याम्पसको सभाहलमा तालाबन्दी गरेका छन् । लामो समयदेखि फर्जी भर्ना सम्बन्धी गम्भीर आरोप लगाउँदै आएका विद्यार्थीहरूले प्रशासनले कुनै सुनुवाइ नगरेको भन्दै प्रदर्शन गर्दै क्याम्पस प्रमुखसहित केही शिक्षकलाई कार्यकक्षमै थुनेर विरोध जनाएका हुन् ।

विद्यार्थीहरूले आरोप लगाएका छन् कि क्याम्पस प्रशासनले हजारौँ रुपैयाँ असुलेर नक्कली कागजातको आधारमा केही विद्यार्थीलाई अवैध रूपमा भर्ना गरेको छ । पटक–पटक उजुरी, प्रमाणसहित ध्यानाकर्षण गराउँदा समेत छानबिन नहुँदा उनीहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् ।विरोधमा सहभागी एक विद्यार्थी नेताले भने, “महिनौँदेखि प्रमाणसहित कुरा राखिरहेका छौं, तर प्रशासन बेखबर बनेको छ । जबसम्म निष्पक्ष छानबिन हुँदैन, हाम्रो आन्दोलन जारी रहनेछ ।”

प्रदर्शनका क्रममा स्वतन्त्र युवा समूहका श्यामप्रसाद गुप्ता, समाजवादी विद्यार्थी युनियनका सागिर आलम र अखिल क्रान्तिकारीका अनिस पटेललाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि भएको छ । प्रहरीले क्याम्पस परिसरमै पुगेर उनीहरूलाई पक्राउ गरेको थियो । यसपछि विद्यार्थीहरू झनै आक्रोशित भएका छन् र थप कडा आन्दोलनको चेतावनी दिएका छन् ।
स्थानीय विद्यार्थी संगठन, विभिन्न राजनीतिक युवा संगठन तथा नागरिक समाजका केही प्रतिनिधिहरूले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै छानबिनको माग गरेका छन् । तर, क्याम्पस प्रशासन भने घटनाप्रति मौन देखिएको छ । थुनिएका क्याम्पस प्रमुखसहित केही शिक्षक तथा कर्मचारीलाई पछि प्रहरीले उद्धार गरेको जनाइएको छ ।

Leave a Reply