सिमरा,अवैधजीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा भएको माटो उत्खनन् घटनाको बारेमा छानविन गर्न गठन भएको समितिले माटो उत्खनन् कार्य अवैध रहेको ठहर गरेको छ ।समितिका संयोजक एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले २१ बुँदे प्रतिवेदन सार्वजनिक गर्दै उक्त उत्खनन् अवैध रहेको बताउनुभएको हो । समितिले अवैध ठहर भएको उक्त कार्यमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन र जरिवाना तिराउन समेत सिफारिस गरेको छ ।

गत असोजमा भएकाभएको सो घटनाको करिब चार महिनासम्मको छानविनपछि समितिले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनले माटो उत्खनन् भएको उक्त जग्गा सार्वजनिक रहेको निष्कर्ष पनि निकालेको छ । उपमहानगरपालिकाले साविकको फत्तेपुर गाविस वडा नम्बर ९ (ख) को कित्ता नं. ३५ बाट एक सय ट्रिपर माटो उत्खनन्का लागि अनुमति प्रदान गरे पनि कित्ता नम्बर ३५ सहित ४१ र ४२ बाट ठुलो परिमाणमा अवैध रुपमा माटो उत्खनन् भएको देखिएकाले प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा माटो उत्खनन्का लागि अनुमति माग गरिएको कित्ता नं. ३५ र माटो उत्खनन् भएको कित्ता नं. ४१ र ४२ दुबै सार्वजनिक जग्गा भएको ठहर पनि गरेको छ । उक्त सार्वजनिक जग्गालाई व्यक्तिको नाममा कायम रहेको देखाउँदै कर्मचारीलाई समेत झुक्याएर अवैधरुपमा माटो चोरी गरिएको छानबिन समितिका संयोजक उपप्रमुख अधिकारीले जानकारी दिनुभयो ।
प्रतिवेदनका अनुसार कित्ता नं. ३५ बाट माटो उत्खनन्को अनुमति माग गर्दै स्थानीय हसिना चुरिहारका छोरा महमद दिन मिया चुरिहारले असोज ४ गते वडा नं. ११ को कार्यालयमा र हसिना चुरिहारले असोज ५ गते उपमहानगरपालिकाको कार्यालयमा निवेदन दर्ता दिएका थिए । तर उपमहानगरपालिकाको कार्यालयमा निवेदन दिने हसिना चुरिहारको मृत्यु भईसकेकाले उक्त निवेदननै शंकास्पद रहेको समितिको ठहर छ ।

यस्तै उपमहानगरपालिकाबाट ३६०४६ घनफिट (एक सय ट्रिपर) को अनुमति लिएपनि कित्ता नं. ३५, ४१ र ४२ बाट २०४३५६.६२ घनफिट (५८३ ट्रिपर) माटो उत्खनन् भएको प्रतिवेदनमा देखिन्छ । जसअनुसार प्रतिट्रिपर १० हजारका दरले ५८ लाख ३० हजार जरिवाना र २०४३५६.६२ घनफिट माटोको प्रति घनफिट चार रुपैयाका दरले ८ लाख १७ हजार चार सय २६ रुपैया राजश्ववापतको रकम असुल गर्नुपर्ने प्रतिवेदनमा सिफारिस गरिएको छ ।

Leave a Reply