सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।मिर्गौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षाघात भएका बिरामीलाई औषधि उपचारका लागि सहयोग गरिएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रवि भास्करले जानकारी दिनुभयो ।

नेपाल सरकारले चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय तहमा पठाउने गरेको छ ।मिर्गौला प्रत्यारोपण गरेका, डायलिसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात भएकालाई औषधोपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाले कार्तिक महिनादेखि पुस महिनासम्ममा १ सय २ जना बिरामीलाई तीन महिनाको एकमुस्ट १५ हजारका दरले सम्बन्धित बिरामीको खातामा रकम जम्मा गरिदिएको भास्करले जानकारी दिनुभयो ।
लाभग्राहीको सङ्ख्या १ सय ४ जना भए पनि २ जनाको मृत्यु भएका कारण १ सय २ जनाको रकम बैङ्कमा पठाइएको उहाँले बताउनुभयो ।जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो स्वीकृत कार्यविधि अनुसार मुटुरोग, अल्जाइमर, हेड ईन्जुरी, सिकलसेल लगायतका बिरामीहरूलाई पनि उपचाकोलागि एक पटककोलागि १० हजार रुपैयाँसम्म सहयोग गर्नेगरेको छ ।


















