काठमाण्डौ – बुधवारदेखि शहीद सप्ताह शुरु भएको छ । सात दिनसम्म विभिन्न कार्यक्रम गरी शहीदको सम्झना गरिन्छ । १६ गते विशेष कार्यक्रमका साथ शहीद दिवस मनाइन्छ । शहीद सप्ताहको पहिलो दिन बुधववार टेकुको पिपलबोटमा रहेको शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।
काठमाण्डौ महानगरपालिकाको शहीद सप्ताह मूल समारोह समितिको आयोजनामा टेकुमा स्मृति सभा हुँदैछ । राणा शासन विरुद्धको आन्दोलनमा वि.सं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । थापाको तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार गरेको आरोपमा विसं १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो ।यता शहीद सप्ताह अन्तर्गत बुधवार पहिलो दिन हेटौँडास्थित शहीद स्मारकमा बुद्धपार्क उद्घाटन गरिएको छ ।
शहीद स्मारक विकास समिति र हेटौँडा उपमहानगरपालिका– ११ नम्बर वडा कार्यालयको आयोजनामा बुधवार बिहान एक कार्यक्रमकाबीच बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले पार्क उद्घाटन गर्नुभएको हो ।कार्यक्रममा पूर्वमुख्यमन्त्री पौडेलले शहीदको ऐतिहासिक थलोको रुपमा विकसित स्मारकलाई धार्मिक पर्यटनसँग पनि जोडेर अघि बढिरहेको बताउनुभयो । उहाँले शहीद सप्ताहका अवसरमा एक हप्तासम्म हुने विभिन्न कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह समेत गर्नुभयो ।
नवनिर्मित पार्कमा गौतम बुद्ध जन्मेपछि सात पाइला हिँडेको बुद्धको मूर्ति देख्न सकिन्छ । उक्त स्थानमा गौतम बुद्धकी माता मायादेवी, भगवान् ब्रम्हा र इन्द्रको मूर्ति पनि राखिएको छ । समितिले शहीद दिवसलाई सप्ताहव्यापी मनाउने कार्यतालिका अनुसार बुधवार पार्कको उद्घाटन गरिएको समितिका सचिव रघुनाथ खुलालले जानकारी दिनुभयो ।
फोटो पनि छ ।


















