कृष्णउदास खनाल
फागुन महिना थियो, २०६२ सालको कुरा हो । म वीरगन्जको एक निजी विद्यालयको सहायक प्रअको रुपमा काम गरिरहेको थिएँ ।
पत्रकारिता र लेखन कार्यमा मेरो सानैदेखि रुची थियो । त्यसो त २०६० सालबाट नै एक साप्ताहिक पत्रिकामा मैले समाचार पनि लेख्दै आइरहेको थिएँ । तर त्यो परिपक्व भने थिएन ।
वीरगन्जको श्रीपुरमा एकजना चौधरी थरका साथीको पत्रिका पसल थियो । म त्यत्तिबेला त्यही पत्रिका पसलमा पत्रिकाहरु पढ्ने गर्दथेँ । एकदिनको करिब ४ बजेतिर म त्यो पत्रिका पसलमा पुग्दा कृपा साप्ताहिक भन्ने पत्रिका देखेँ । त्यसमा कर्मचारी आवश्यकता सम्बन्धि सूचना प्रकाशन भएको रहेछ । एकप्रति पत्रिका साथमा लिएर त्यही साँझ म कृपाको श्रीपुरस्थित कार्यालयमा पुगेँ जुन नवराज उपाध्यायको घर थियो ।
कार्यालयमा पुग्दा एकजना पाका व्यक्ति हातमा रेडियो लिएर समाचार सुन्दै हुनुहुन्थ्यो भने अर्का एकजना चाही कार्यलयको काममा व्यस्त देखिनुुहुन्थ्यो । कार्यालयमा गएर पत्रिकामा आएको विज्ञापन देखाउदै मैले काम गर्न आएको बताएँ । कार्यालयमा बसेका व्यक्ति कमलकुमार उपाध्याय हुनुहुन्थ्यो भने बाहिर रेडियो बजाएर समाचार सुन्ने व्यक्ति चाही श्रद्धेय अभिभावक सबैको प्रिय नवराज सर हुनुहँुदो रहेछ । कमल दाइसंगको पचिय र सामानय भलाकुसारीपछि तुरुन्तै उहाँले बुवा नजराज सरसंग मेरो परिचय गराइदिनुभयो । बुवासंग लामै गफ भयो ।
म गोरखा जिल्लामा जन्मिएको मान्छे, उहाँहरुको पुरानो थाकथलो लमजुङ्ग रहेछ । त्यसैले पनि होला मैले उहाँलाई भावनात्मक रुपमा निक्कै नजिक ठानेँ । बुवाले पहिलो भेटमा मलाई तपाइँ भनेर संबोधन गर्नुभयो । उमेरले छोरा समानको म जस्तो सामान्य व्यक्तिलाई तर्पा भनेर संबोधन गरेकोमा मलाई केही असजिलो त भयो नै तर म बुवासंग धेरै प्रभावित भएँ । बुवाको बोल्ने शैली, कुरा गर्ने पाराले म शुरुकै दिनबाट प्रभावित भएको हुँ ।
कमल दाइले पनि त्यही दिनदेखि कृपा साप्ताहिको सहसम्पादकको जिम्मेवारी मलाई दिनुभयो । जिम्मेवारी पाएपछि म धेरै खुसी थिएँ । बुवासँग पनि केही कुरा पक्कै सिक्ने मौका पाउनेछु भन्ने मनमा लागि नै रह्यो । पत्रिकामा जोडिएपछि श्रदेय अभिभावक नवराज बुवा मेरा लागि बुवा नै बन्नुभयो । कर्मको बुवाको रुपमा मेरो जीवनमा रहनु भयो । म सिकारु थिएँ । म नेपाली विषयकै विद्यार्थी थिएँ तर नवराज बुवाको अगाडि म केही थिइन । कति कुरा त काम गर्दागर्दै बिग्रन्थ्यो । बुवाले कहिल्यै नमिठो बोल्नु भएन । एकदमै मिठो पाराले मलाई संझाउनु भयो, सल्लाह दिनुभयो । धेरै कुरा बुवासंग सिके मैले । तर बुवाले आफ्नो जीवनकालमा कहिल्यै मलाई तिमी समेत भन्नु भएन । छोरा सरहको मान्छेलाई सधै तपाई भन्नुभयो । संधै माया गर्नुभयो ।
२० वर्षको हुँदा बुवा भन्ने शब्दबाट अलग भइसकेको थिएँ म । राजनीतिक कारणले मेरो जन्मदिने बुवालाई राक्षसहरुले हामी माँझबाट खोसेर लगेका थिए । त्यसपछि नवराज सरसंग भेट भएपछि मात्रै मैले बुवा भन्न पाएको थिएँ । नवराज उपाध्यायसँग अथवा यो परिवारसँगको कर्मको साइनो जोडिएपछि मेरो कर्मको बुवाको रुपमा श्रदेय अभिभावक नवराज बुवा रहनु भयो । मेरो जन्म दिने पछिको बुवा उहाँ नै हो । बुवा भन्न पाउदा मलाई साख्य बुवा जस्तै लाग्दथ्यो उहाँ ।
मृत्यु सबैको लागि स्वभाविक र सास्वत छ । बुवाको ८४ वर्षको उमेरमा निधन भएको छ । अब मसंग नवराज बुवाको स्मृति मात्र बाँकी छ । यद्यपि बुवाको प्रेरण, उपदेश र उहाँले देखाउनु भएको बाटोमा एक कर्मको छोराको नाताले म हिँड्ने प्रयास पक्कै गर्नेछु । मेरो जीवनभर नवराज बुवा एक श्रद्धेय अभिभावकको रुपमा रहिरहनुहुनेछ । त्यसो त उहाँकी धर्मपत्नी अनि ममी पनि मेरो प्रेरणाको स्रोतको रुपमा रहनु भएकोछ ।
भौतिक रुपमा आदरणीय दाजुहरु किरण कुमार उपाध्याय, कमलकुमार उपाध्याय र कुन्दनकुमार उपाध्याय सहित दिदीहरु सुदा र सुष्मा सहित उहाँहरुको परिवारले एक कुशल अभिभावक गुमाउनु भएको छ र मैले पनि गुमाएको छु । शोकको यो घडीमा बुवाको बिषयमा कयौं कुराहरु संझना लायक छन् । सबै लेख्न पनि सकिरहेको छैन । पलपलको संझना बुवासंगको आइरहेको छ । यो लेखमार्फत यत्ति हो बुवाप्रति सदैव उच्च सम्मान रहनेछ । बुवाले देखाउनु भएको बाटोमा हामी पक्कै हिँड्नेछौं । बुवाको बैकुण्ठमा बास होस् र दाजुहरु र सबै परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् यहि कामना छ ।

















