निजगढ,बाराको निजगढ नगरपालिका वडा नं. १० लालमा दोस्रो ल्होछार कप हुने भएको छ ।
योङ स्टार युनाईटेड क्लबको आयोजनामा माघ १८ गतेबाट हुने प्रतियोगिताको विजेता टिमले एक लाख १० हजार र उपविजेता टिमले ५५ हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताबारे जानकारी दिन बुधवार निजगढ– ९ स्थित चङ्की रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका सल्लाहकार कुमार मुक्तानले १२ लाख अनुमानित बजेटमा प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी गराउनुभयो ।
प्रतियोगिता आयोजना गर्न नगरपालिका कार्यालय, वडा कार्यालयसहित विभिन्न चन्दादाताबाट रकम संकलन गरेर स्रोत जुटाईनेछ ।प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, सर्वाधिक गालकर्ता र सर्वोकृष्ट गोल रक्षकलाई तीन हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने प्रत्येक दिनका म्यान अफ द म्याच खेलाडीलाई नगद एक हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष अशोक लामाले बताउनुभयो ।प्रतियोगिताको पहिलो संस्करणको उपाधि निजगढ ५ को निजगढ सिटीले जितेको थियो भने निजगढ ४ को समाजसुधार युवा क्लब उपविजेता भएको थियो । उपाधि विजेताले ४० हजार र उपविजेताले २५ हजार प्राप्त गरेको थियो ।

पहिलो संस्करणमा २२ टिमको सहभागिता रहेकोमा यो पटक १६ टिमलाई सहभागि गराईने भएको छ । सलार्हीको दुई वटा, मकवानपुरको ३ वटा टिम, पर्साको वीरगञ्ज युनाईटेड, बारा, निजगढका टिमको सहभागिता रहने छ ।प्रतियोगिता सञ्चालन गर्न व्यवस्थापन समिति गठन गरिएको छ । प्रतियोगितालाई तामाङ समुदायको पहिचानका रुपमा रहेको ल्होछार पर्वको उत्सवका रुपमा विकास गर्ने लक्ष्य रहेको क्लबका पूर्व अध्यक्ष शिद्धार्थ लोप्चनले जानकारी दिनुभयो ।नेपाल तामाङ घेदुङ संघ बारा जिल्ला समन्वय समितिका अध्यक्ष एवंम निजगढ नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष सुर्य घलानले संघले गर्नुपर्ने काम क्लबले गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । घलानले प्रतियोगिता सफल पार्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

Leave a Reply