निजगढ,निजगढ नगरपालिका वडा नम्बर ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले खरिद गरेर किसानहरुलाई बिक्री गरेको ढुटोमा तोकिएको भन्दा कम तौल पाइएको घटनामा प्रहरीले अनुसन्धान गर्ने भएको छ ।घटनाको बारेमा छलफल गर्न भनेर सोमवार इलाका प्रहरी कार्यालय निजगढमा भएको छलफलमा कुनै सहमति नभएपछि बागदेव डेरीले छानबिनको माग गर्दै बिक्रेता विरुद्ध प्रहरीमा उजुरी गर्ने तयारी गरेको हो ।किसान र डेरीका पदाधिकारीको समेत उपस्थितिमा भएको छलफलमा खाद्यन्न भण्डारका संचालक हुमागाईले आफूले आरके सप्लायर्स सिमराबाट खरिद गरेर ल्याएको र तौल कम भएको बारेमा कुनै जानकारी नभएको जिकिर गरेका थिए ।बागदेव डेरीले निजगढ ६ स्थित गणेश खाद्यान्न भण्डारमार्फत सिंगौल सेवा केन्द्रका किसानहरुको लागि खरिद गरेको ३० केजी क्षमताको बोरामा प्रतिबोरा ३ केजीसम्म कम ढुटो पाइएपछि निजगढ प्रहरीले खाद्यान्न भण्डारको गोदामबाट आइतवार ५३ बोरा ढुटोसहित खाद्य भण्डार संचालक हुमागाईलाई पनि नियन्त्रणमा लिएको थियो ।डेरीका पादधिकारीहरुले प्रहरीलाई दिएको जानकारीको आधारमा प्रहरीले आइतवार ढुटोसहित हुमागाईलाई पनि नियन्त्रणमा लिएको हो । संचालक हुमागाईलाई भने स्थानीयको जिम्मामा छोडिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । प्रहरीले डेरीले दिने जाहेरीको आधारमा कानुनी कारबाही अघि बढाउने पनि बताएको छ ।वीरगञ्जस्थित संन्तोष एण्ड सितल खाद्य उद्योगबाट उत्पादित र सिमरास्थित आरके सप्लायर्सबाट गणेश खाद्यान्न भण्डारले खरिद गरेर डेरीमार्फत किसानलाई बिक्री गरेको सो ढुटोको बोरामा तोकिएकोभन्दा कम तौल पाइएको हो ।बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना किसानहरुको लागि बिक्रेतामार्फत उपलब्ध गराएको ढुटोको रकम दुध बिक्रीको पैसाबाट कट्टा गर्ने गरेको छ ।घटनाको बारेमा बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले आइतवार नै विज्ञप्ति निकालेर गणेश खाद्य भण्डारले गत माघ ५ गते बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको सिगौँल सेवा केन्द्रका किसानलाई बिक्री गर्न भनेर पठाएको १ सय बोरा ढुटो संस्थाका कर्मचारीद्धारा नाप जाँच गर्ने क्रममा कम पाइएको र किसानले खरिद गरेको ढुटोमा प्रतिबोरा ३ केजी घटाएर २७ केजी कायम गरी कृषकको हिसाब राखिने जानकारी गराउनुभएको थियो ।त्यसैगरी अध्यक्ष सापकोटाले आगामी दिनमा उक्त खाद्य भण्डारबाट डेरीले कुनै पनि किसिमको व्यापारिक कारोवार नगर्ने समेत जानकारी गराउनुभएको छ । खाद्य भण्डारका संचालक रामप्रसाद हुमागाई सहकारी संस्थाको लेखा समितिको सदस्य पनि हुनुहुन्छ ।

Leave a Reply