छिमेकी देश चीनका कम्युनिष्ट नेता माओको नाउँमा नेपालमा पनि पचासको दशकतिर प्रचण्डको नेतृत्वमा नेकपा माओवादी पार्टी गठन भयो । २०५२ साल फागुन १ गते त्यही पार्टीले नेपालमा सशस्त्र संघर्षको घोषणा गर्यो अनि त्यही दिनको संझनामा दश वर्षसम्ममा देशमा भएको सशस्त्र संघर्ष (जनयुद्ध) मा सहभागी भएकाहरुले उक्त दिनलाई मंगलवार दिवसको रुपमा मनाए ।

जनयुद्धले देशलाई बर्बाद बनायोभन्दा माओवादी विचाराधासंग नजिक रहेकाहरुलाई रिस पनि उठ्छ सक्छ ।
माओवादी जनयुद्धको अपमान गर्ने उद्देश्य पनि हाम्रो होइन । तर जनयुद्धले देशलाई के दियो भनेर चाही समीक्षा गर्नुपर्दछ । जनयुद्धको औचित्य सावित गर्ने क्रममा माआोवादीहरुले भन्ने एउटै कुरा हो– गणतन्त्र । माओवादी कार्यकर्ता र त्यसका नेताहरु पनि जनयुद्धले गर्दा नै राजतन्त्रको अन्त्य भएको र देशमा गणतन्त्र स्थापना भएको दाबी गर्ने गरेका छन । तर, यो गणतन्त्रले देशलाई के दियो भन्ने प्रश्न पनि उत्तिकै अहमको छ ।

राजतन्त्रको समाप्ति भएसंगै अहिले देशमा उदाएका सयौं राजाहरु र उनीहरुको भ्रष्टाचारी व्यवहारले गर्दा अहिले आमजनताले गणतन्त्रमाथि नै औला ठड्याउन थालेका छन । यस्तो अवस्थामा त्यति ठूलो धनजनको क्षति गरेर ल्याइएको कथित गणतन्त्रलाई जनयुद्धको उपलब्धी मान्नुपर्ने देखिदैन । वास्तवमा राजा फाल्नका लागि मात्रै देशमा यति ठूलो हत्या हिंसाको जरुरत नै थिएन । १९ दिनमात्रै भएको शान्तिपूर्ण जनआन्दोलन र त्यसपछि राजतन्त्रको अन्त्य भएको घटनाले यो कुराको पुष्टि गरिनै सकेको छ ।
जनयुद्धले देशमा खर्बौको संरचना मात्रै ध्वस्त पारेन सेना र माओवादीमा भाग नलिएका हजारौं सर्वसाधारण नागरिकहरुको पनि नरसंहार भयो । धेरै मानिसहरु घाइते र अपाङ्ग बने । उनीहरुको खुसी खोसियो अनि जीवन बर्बाद भयो । त्यसैगरी १० वर्षसम्म चलेको युद्धले केही नभए पनि देश बिस वर्षपछाडि धकेलियो । तर माओवादी अध्यक्ष प्रचण्ड र केही नेताहरुलाई भने यो युद्ध वरदान नै सावित भएको छ ।

त्यसैगरी जनयुद्ध र गणतन्त्रको बारेमा बुझ्नुपर्ने अर्को तथ्य पनि के छ भने सशस्त्र संघर्ष नभएको भए देशमा अलिक बढी समय लाग्थ्यो होला तर ज्ञानेन्द्र कुनै पनि शर्तमा गद्दीमा रहिरहनेवाला थिएनन । उनको आफ्नै कारणले देशबाट राजतन्त्र सकिएको हो । त्यसैले देशमा गणतन्त्र स्थापना हुनुमा जनयुद्ध मात्रै नभइ स्वंयम तत्कालिन राजा ज्ञानेन्द्रकै भूमिका पनि महत्वपूर्ण छ । कल्पना गरौं, वीरेन्द्र भएको भए, नेपालमा राजाबिनाको गणतन्त्र संभव नै थिएन । समग्रमा जनयुद्धले देशलाई बर्बाद नै बनाएको छ । त्यसैले यो दिनको संझना थोरैले गर्छन् तर धेरैले गर्दैनन् ।

Leave a Reply