सिमरा,पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो बाराको बरियारपुरस्थित महागढीमाई मन्दिरको बिहीवार दर्शन गर्नुभएको छ ।
राजपरिवारका अन्य सदस्यसहित मन्दिरमा पुग्नुभएका उहाँले मन्दिरमा पूजापाठसमेत गर्नुभएको थियो । सो अवसरमा मनिदरका मुल पुजारी मंगल चौधरीले पूर्वराज ज्ञानेन्द्रलाई मन्दिरको अवस्था बारे जानकारी गराउनुभएको थियो । पूर्वराज दर्शनको लागि आउने खबर पाएपछि भेला भएका समर्थकहरुले उहाँको पक्षमा नाराबाजीसमेत गरेका थिए ।यसैबीच पूर्वजारासहित पूर्वराजपरिवारका सदस्यले पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगजस्थित जंगलमा सफारी गरेका छन् । पुस २३ गतेदेखि सिमरामा रहेका पूर्वराजा शाह बुधवार परिवारसहित निकुञ्ज क्षेत्रमा पुग्नुभएको हो ।जंगल सफारीमा पूर्वराजा शाहसंग पूर्वरानी कोमलसहित परिवारका अन्य सदस्य सहभागी रहेका थिए । पूर्वराजपरिवारका सदस्यहरु जंगल सफारीका लागि प्रयोग हुने गाडी चढेर निकुञ्ज क्षेत्रको अवलोकन गरेका हुन ।भैरहवाबाट सिमरा आउनुभएका पूर्वराजा सिमरास्थित प्रभु निवासमा बस्दैआउनुभएको छ । उहाँले पुस २८ गते सर्लाहीको मुक्तेश्वर मन्दिर, माघ २ गते रौतहटको शिवमन्दिरको दर्शन गर्नुभएको थियो । उहाँले बिहीवार नै बरियारपुरस्थित गढीमाई मन्दिर दर्शन गर्नुभएको थियो । उहाँले माघ ७ गते हेटौंटाको भूटनदेवी मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ ।त्यसैगरी पूर्वराजा शाहलाई माघ १३ गते वीरगन्जमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम निर्धारण गरिएको छ । सिमरा मुकाम बनाएर तराईका विभिन्न जिल्ला भ्रमण गर्दैआउनुभएका पूर्वराजा शाह यस क्षेत्रका धार्मिक र पर्यटकीय क्षेत्रको भ्रमणमा सक्रिय हुनुभएको छ ।




















