सिमरा,सिमरा पब्लिक इङ्लिस स्कुलका छात्र प्रिन्स यादव मधेश प्रदेश स्तरीय स्क्राबल प्रतियोगिताको विजेता बनेका छन् ।सिमरामा आयोजित दुई दिने प्रतियोगितामा १७ विद्यालयका ५० प्रतिस्पर्धीलाई उछिन्दै प्रिन्सले प्रथम स्थान हासिल गरेका हुन् ।कक्षा १० मा अध्ययनरत प्रिन्सले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्दा प्रतियोगिताको दोस्रो र तेस्रो स्थान सिमरास्थित शुभारम्भ एकेडेमीका छात्रहरूले हात पारे । कक्षा ९ का पर्वत केसी दोस्रो र सभ्य मण्डल तेस्रो भएका हुन् ।
त्यस्तै प्रतियोगितामा सहभागी जिल्लामध्ये बाराको जीतपुरस्थित एभरग्रीन स्कुलका युवराज साह, पर्साको वीरगन्ज पब्लिक स्कुलका समिप्य कंडेल र सिरहाको नाइटेङ्गल स्कुलका श्रेयन बस्नेत ‘उदीयमान खेलाडी’ घोषित भए ।
विजेता तथा उदीयमान खेलाडीलाई स्क्राबल क्लबका सदस्यता विकास निर्देशक भोजराज सुवेदी, बाराका संयोजक सुभाष अधिकारी, नाइटेङ्गल स्कुल सिरहाका अभि निरौला र सिमरा पब्लिक स्कुलका प्रिन्सिपल बसन्त ढकाललगायतले पुरस्कार प्रदान गरेका थिए । सहभागी सबै विद्यार्थीलाई सहभागिताको प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।
प्रदेश स्तरीय प्रतियोगितामा बारा, पर्सा र सिरहाका १७ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । सिमरा पब्लिक इङ्लिस स्कुलले यो प्रतियोगिता दोस्रो पटक आयोजना गरेको हो । दोस्रो संस्करणलाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताउँदै प्रिन्सिपल ढकालले विद्यालयहरूले स्क्राबल खेललाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
स्क्राबल अंग्रेजी शब्दहरूको खेल हो । यसले विद्यार्थीहरूको भाषिक क्षमता, शब्द भण्डार र निर्णय क्षमताको विकासमा सहयोग पुग्ने शिक्षकहरूको भनाई छ । समापन समारोहमा बोल्दै वक्ताहरुले स्क्राबल केवल शब्दको खेल मात्र नभई सिकाइको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यसले विद्यार्थीहरूलाई प्रतिस्पर्धी, आत्मविश्वासी र सिर्जनशील बनाउने बताउनुभयो ।ढकालको अध्यक्षतामा सम्पन्न समापन समारोहको सहजीकरण शालिकराम अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्यसमेत प्रस्तुत गरेका थिए ।



















