निजगढ,भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व मंगलवार उमा महेश्वरको पूजाराधना गरी मनाइएको छ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गर्नुभएको थियो । अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधू प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय मान्यता रहेको छ ।

यसैबीच मंगलवार हरितालिका तीजको अवसरमा निजगढका विभिन्न शिवालयमा श्रद्धालु महिलाहरुको भीड लागेको छ । निजगढ ९ को वाक्यश्वर, वडा नम्बर ४ को पर्वतनाथ महादेव, निजगढ ८ को ऋषेश्वर, निजगढ १३ डम्बरपुरको शक्तेश्वर, निजगढ ११ रतनपुर महादेव, निजगढ १२ को कोलगाउँको पशुपति मन्दिर, र निजगढ २ सिंगौलकोे शिव मन्दिरहरुमा श्रद्धालु महिलाहरुले नाचगान सहित महादेवको पूजा गरेका हुन ।

त्यसैगरी निजगढ –६ स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा पनि तीजको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । विशेष गरी तीजमा माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाएर दर खुवाउने प्रचालन छ । दर खाएपछि मंगलवारबाट औपचारिक रुपमा सुरु भएको तीज पर्व बिहीवार ऋषि पञ्चमीसम्म मनाउने गरिन्छ । मंगलवार तृतीयाका दिन हरितालिका व्रत, बुधवार चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज समापन हुनेछ ।

त्यसैगरी कोल्हबीमा पनि मंगलबार नेपाली हिन्दु धर्मावलम्बी महिलाहरुले हरितालिका तीज मनाएको छ । जनशक्ति क्लब परिवार तथा रेडियो पातालगंगाको संयुक्त आयोजनामा कोल्हबीको मुख्य बजारमा हरितालिका तीज मनाइएको थियो ।

नेपाली महिलाहरूले विभिन्न शिवालयहरुमा गई महादेवको पूजा आराधना गरी मंगलबार हर्षोल्सासपूर्वक तीज पर्व मनाइएको थियो ।

दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व तीन दिन अर्थात् ऋषि पञ्चमीसम्म मनाइन्छ । जनशक्ति क्लब परिवार कोल्हबीको उपाध्यक्ष सुनिताकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न तीज कार्यक्रमको प्रमुख अतिथि कोल्हबी नगरपालिकाकी नगर उपप्रमुख लक्ष्मीकुमारी चौधरी रहनुभएको थियो ।

कार्यक्रममा कोल्हबी नगर उद्योग वाणिज्य संघका महासचिव शम्भु साह, नेपाल पत्रकार महासंघ बारा शाखाका सदस्य दुष्यन्त चौधरी, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ बाराका अध्यक्ष जियालाल चौधरी, रेडियो पातालगंगाका प्रोडक्सन म्यानेजर बुधन चौधरी, रेडियो पातालगंगाका पुनम चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन रेडियो पातालगंगाका प्रबन्ध निर्देशक धिरेन्द्र पनुहरले गर्नुभएको थियो ।

Leave a Reply