वीरगञ्ज,सडकमा राखिएको डिभाइडरमा ठोक्किए भएको कार दुर्घटनाबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित रेनुका पेट्रोल पम्प नजिकै आइतवार दिउँसो करिब ३ः१० बजे भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवा भट्टका अनुसार गण्डकबाट बस पार्कतर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडक खण्डको बीचमा रहेको डिभाइडरमा ठोक्किन पुगेको थियो ।
दुर्घटनामा घाइते भएका चारै जनालाई तत्काल उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको थियो । अस्पताल पु¥याइएका मध्ये करिब ३० वर्षीय बिटु सर्राफलाई चिकित्सकले दिउँसो ३ः५० बजे मृत घोषणा गरेका थिए ।
उनको टाउको, मुख र कानमा गम्भीर चोट लागेको थियो । दुर्घटनामा घाइते हुने अन्यमा कार चालक भारत, बेतिया नरकटियागञ्ज निवासी करिब ४० वर्षीय गणेश सर्राफ रहेका छन् ।

उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । त्यसैगरी, सोही स्थानका २० वर्षीय रतन सर्राफको बायाँ हात र शरीरका विभिन्न भागमा मध्यम चोट लागेको छ । अर्का घाइते २१ वर्षीय बिटु सर्राफ (रामबाबु सर्राफका छोरा) को दायाँ खुट्टा, छाती र टाउकोमा गम्भीर चोट रहेको छ ।घटनास्थलबाट दुर्घटनाग्रस्त कार नियन्त्रणमा लिने पहल भइरहेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यता, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १२ स्थित मानवत–मटिअर्वा सडक खण्डमा अटो दुर्घटना भएको छ । आइतवार दिउसो भएको दुर्घटनामा पाँच यात्रु घाइते भएका छन् ।कलैयाबाट मटिअर्वातर्फ जाँदै गरेको म.प्र.–०३–००१ ह १८५४ नम्बरको अटो सितलपुर मठ नजिकै दुर्घटनामा परेको हो । घाइते भएका सबै यात्रुलाई उद्धार गरी उपचारका लागि कलैयास्थित अस्पतालमा ल्याइएको थियो ।दुर्घटनाको कारण खुल्न सकेको छैन । स्थानीयले समयमै उद्दार कार्यमा सहयोग गरेका थिए ।

Leave a Reply