पोखरिया,प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिका र पोखरिया नगरपालिकामा सन्चालित अवैध मदिरा भट्टी नष्ट गरेको छ । सूचना परिचालन र प्रहरी कारबाहीको सिलसिलामा बुधबार अवैध घरेलु मदिरा नष्ट गर्ने अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको टोलीले मदिरा भट्टी नष्ट गरेको हो ।
प्रहरीले जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ३ इटियाहीस्थित जगराम र सन्देश रामको घरमा अवैध रुपमा संचालन गरेको घरेलु मदिरा उत्पादन गर्ने भट्टी र पोखरिया नगरपालिका वडा नं.४ स्थित किशोरी साहले संचालन गरेको भट्टी नष्ट गरेको हो । भट्टीबाट प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग हुने जम्मा कच्चा पदार्थ २२०० लिटर, तयारी २० लिटर नष्ट गर्नुका साथै रक्सी बनाउन प्रयोग गरिने मेसिन ३ थान २४ वटा प्लाष्टिकको ड्रमसमेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।