नरेश गुप्ता
बरियारपुर,बारा सदरमुकाम कलैयास्थित जिल्ला अस्पतालमा कोभिड १९ चेकजाँचको लागि पिसिआर मेसिन आईतबारबाट संचालनमा ल्याइएको छ । जनशक्ति अभावमा त्यसै थन्किएको मेसिन प्रदेश न २ सरकारले ७ जना दक्ष चिकित्सकसहितको टोली खटाएपछि सेसिन संचालनमा ल्याइएको हो ।
मेसिन संचालनमा आए लगत्तै कलैया अस्पतालले स्वाब संकलन र पिसिआर परीक्षण कार्य शुरु गरेको अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट गौरव महतोले जानकारी दिनुभयो । सुपरिटेन्डेन्ट महतोले कोरोना कोभिड १९ को लक्षण देखिएका सर्वसाधारण लगायत सबैले अब कलैयामा नै स्वाव चेकजाँच गराउन सक्ने बताउनुभयो । । मेसिन संचालनमा आएको पहिलो दिनमा नै जिल्लाका ४४ जनाको परीक्षण गरिएको थियो । उहाँका अनुसार एक पटकमा ९६ जनासम्मको परीक्षण गर्न सकिने छ ।
जिल्लाका आधा दर्जन स्थानीय तहबाट रकम संकलन गरेर कलैया उपमहानगरपालिकाले खरिद गरेको पिसिआर मेसिन संचालन गर्ने जनशक्ति अभावमा त्यसै थन्काएर राखिएको थियो । प्रदेश न २ सरकारको मातहतमा रहेको कलैया अस्पताललाई पिसिआर चेकजाँच सामग्री र जनशक्ति उपलब्ध गराएपछि सेवा संचालनमा आएको हो । कोरोना महामारीको उच्च जोखिममा रहेको बारा जिल्लामा मेसिन संचालनमा आएपछि कोरोनाको लक्षण देखिएकाहरुको स्वाब चेकजाँच गर्न सहज हुने बताइएको छ । प्रदेश नम्बर २ का समाजिक बिकास मन्त्री नवलकिशोर सिहले बैशाख ६ गते पिसिआर मसिन र एच डियु कोठाको एकै साथ उदघाटन गर्नु भएको थियो ।