निजगढ,बारा जिल्ला स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडी र टिम व्यवस्थापकलाई निजगढ नगरपालिकाले पुरस्कृत गर्ने भएको छ ।राष्ट्रपती रनिङ्ग शिल्डको प्रथम ट्रफी जितेर फर्किएका खेलाडीहरुको सम्मानमा शनीवार निजगढ ६ को जनसृजनशील खेल मैदानमा भएको कार्यक्रममा बोल्दै निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरीले स्वर्ण पदक जित्ने प्रतिखेलाडी ३ हजार, रजत पदक विजेतालाई २ र कास्य पदक विजेता खेलाडीहरुलाई १÷१ हजार रुपैयाको दरले पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको हो । त्यसैगरी प्रतियोगिता व्यवस्थापक ४ जनालाई पनि ४÷४ हजार रुपैयाको दरले सम्मान गरिने नगर प्रमुख पुरीले बताउनुभयो ।

कलैयाको ब्रह्मपुरीमा शनीवार सम्पन्न बारा जिल्ला स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगितामा निजगढ १६ स्वर्ण, ८ रजत र ११ कास्यसहित ३५ पदक जितेर प्रथम भएको छ । साविकको ट्रफी विजेत जीतपुरसिमरा उपमहानगरपालिकालाई पछि पार्दै निजगढ विजेता बनेको हो । जीतपुरसिमरा १५ स्वर्णसहित ४७ पदक जितेर द्वितीय भएको छ भने कलैया उपमहानगरपालिका ९ स्वर्णसहित २६ पदक जितेर प्रतियोगितामा तृतीय बनेको छ ।निजगढले छात्रा १००, २०० मिटर दौड, छात्र ४०० मिटर दौड, लङ्गजम्प र ट्रिपल जम्प र छात्रा सर्टफुटसहित तेक्वाण्डोतर्फका अधिकांश प्रतिस्पर्धामा स्वर्ण पदक जितेको हो । छात्रा १००, २०० मिटर दौडमा निजगढ ८ को गौरीशंकर माविकी अणु माझीले निजगढ नगरपालिकालाई स्वर्ण दिलाएकी थिइन । छात्र ४०० मिटर दौडमा बकैया ठाकुर माविका समिर कुवर र छात्रा सर्टफुटमा गौरीशंकर मावि निजगढ ६ सडक टोलकी अरुणिमा घिमिरेले स्वर्ण पदक दिलाइन ।

त्यसैगरी लङ्गजम्प र ट्रिपल जम्पमा गौरीशंकर मावि निजगढ ८ कै आरोसीकुमारी चौधरीले २ वटा स्वर्ण पदक दिलाएकी छिन । ४×४०० रिले दौडमा छात्र छात्राको दुबै स्पर्धामा पनि निजगढले नै स्वर्ण हात पारेको छ ।तेक्वाण्डोतर्फ भने निजगढ नगरपालिकाले बर्चश्व नै कायम गरेको छ । विभिन्न तौल समूहका १२ वटा प्रतिस्पर्धामा निजगढले ८ स्वर्ण जितेको छ । छात्र÷छात्राको ४५ केजी तौल समूहमा निजगढको लागि समिर नेपाली र बिनीमाया मोक्तानले स्वर्ण जितेका छन ।
त्यसैगरी छात्रा ४४ केजी तौल समूहमा अनिषा दर्लामी मगर, छात्र ४८ केजी तौल समूहमा बिपिन जिम्बा, छात्र ५१ केजी तौल समूहमा सचिन लामा, ५५ केजी तौल समूहमा सुरज गुरुङ्ग र ५९ केजी तौल समूहमा गौरव दहालले स्वर्ण जितेका छन।
त्यसैगरी छात्रा ४६ केजी तौल समूहमा निजगढकी प्रशंसा आले मगर, ४५ केजी तौल समूहमा बिनीमाया मोक्तानले निजगढको लागि स्वर्ण जितेका छन ।१०० मिटर छात्रतर्फ गौरीशंकर मावि निजगढ ८ का जीवन कुश्वार, ४०० मिटरतर्फ गौरीशंकर मावि निजगढ ८ कै आरतीकुमारी चौधरी, ज्याभलिङ्ग थ्रोमा सोही विद्यालयका प्रतिस चौधरीले निजगढको लागि रजत पदक जितेका छन ।४ × १०० मिटर रिलेमा पनि गौरीशंकरकै खेलाडीहरुले निजगढको लागि रजत पदक दिलाएका छन ।त्यसैगरी छात्र सर्टफुटमा अरुण घिमिरे, छात्रा १५०० मिटरमा सुप्रिया लामा, छात्र १५०० मिटर दौडमा अरबिन्द कुशवाहा, छात्रा ज्याभलिङ्ग थ्रोमा रोशन विक र छात्रा ८०० मिटर दौडतर्फ कुशुम पण्डितले निजगढलाई क्यास्य पदक दिलाए ।त्यसैगरी प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ७ कास्य पदकसहित १६ पदक जितेर कोल्हबी नगरपालिका तृतीय बनेको छ । करैयामाई गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र ७ कास्य हात पारेको भने परवानीपुर गाउँपालिकाले ३ स्वर्ण, २ रजत र ७ कास्यसहित १२ पदक जितेको छ ।

Leave a Reply