मनोज शाह
जीतपुर,
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ स्थित शान्तिटोलमा रहेको खेल मैदान मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ ।वीरगञ्ज–पथलैया मुख्य सडकसँगै जोडिएको तथा आर्थिक नगरीको रुपमा परिचित जीतपुर बजारको काखमै रहेको यो खेल मैदान सबैको आकर्षणको केन्द्र भए पनि उचित मर्मत सम्भारको अभावमा जीर्ण अवस्थामा पुगेको हो ।मैदानमा यत्रचत्र फोहोर र खाल्डाखुल्डी भए पनि खेलाडीहरु त्यसैमा खेल्न बाध्य भएका छन ।वर्षौंदेखि खेल जीर्ण रहेको यो खेल मैदानसँगै स्थानीय खेलाडीहरुको भविष्य पनि जोडिएको छ । यसको उचित मर्मत सम्भार गर्न सकेको खण्डमा मात्रै विभिन्न खेलसँग सम्बन्धित राष्ट्रिय खेलाडीहरु उत्पादनमा टेवा पुग्ने देखिन्छ ।खेलमैदानमा फुटबल अभ्यास गरिरहेका स्थानीय खेलाडी समर खडकाले उपमहानगरपालिका तथा वडा कार्यालयले स्थानीय खेल मैदानको मर्मत सम्हारसंगै खेलाडीहरुको प्रोत्साहनको लागि काम नगरेको गुनासो गर्नुभयो ।‘अभ्यास गर्न न राम्रो खेल मैदान छ, न त पर्याप्त खेल सामग्रीहरु नै छन, खडकाले भन्नुभयो, तर पनि खेलाडीहरु निरन्तर अभ्यास गरिरहेकै छन ।’ उहाँले आर्थिक अभावका बावजुद पनि खेलाडीहरु च्यातिएको बुट लगाएर जीर्ण मैदानमा अभ्यास गर्न बाध्य रहेको बताउनुभयो ।खडकाले फुटबल खेलकै माध्यमबाट आफूहरुकोे भविष्य निर्माण गर्न चाहेको भन्दै कसैले एक जोर बुटमात्रै उपलब्ध गराइदिए पनि ठूलो राहत मिल्ने बताउनुभयो ।सोही मैदानमा अभ्यास गर्ने अर्का फुटबल खेलाडी महेन्द्र साहले स्थानीय सरकारको सहयोगको अभावमा जीतपुरमा खेल मैदान र खेलाडीहरुको विकास हुन नसकेको बताउनुभयो ।

Leave a Reply