कृष्ण मोहन साह
सेढवा,पर्सा जिल्लामा पहिलो पटक बुधवारबाट जिराभवानी गाउँपालिकामा ढकिया बुनाइ प्रतियोगिता सुरु भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै गाँउपालिका अध्यक्ष अनोज चौधरीले थारु संस्कृति अन्तर्गत लोप हुदै गएका ढकिया संरक्षण तथा प्रवर्दनका लागि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । स्थानीय स्रोत साधनको प्रयोगबाट बुनिएका ढकियालाई बजारीकरण गरी स्थानीय महिलाका पेसागत क्षमतामा अभिवृद्धि गर्न सकिने अध्यक्ष चौधरीले बताउनुभयो । प्रतियोगितामा निर्माण भइ आएका ढकियालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न पालिकाले पहल गर्ने कार्यक्रमका वक्ताहरुले जनाएका छन ।गाउँपालिकाको वडा नं ४ सुपौलीको खेलमैदानमा सुरु भएका सो प्रतियोगितामा एक सय पचास समूहका महिलाहरुको सहभागीता रहेको छ । सो प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद पच्चीस हजार रुपैया र ट्रफी, द्वितिय हुने टोलीलाई नगद १५ हजार नगदसहित ट्रफी र ततीय हुने टोलीलाई १० हजार नगदसहित ट्रफी प्रदान गरिने आयोजक संस्थाका सदस्य गोबिन्द चौधरीले बताउनुभयो ।वडाध्यक्ष राजेश्वर दासको सभापतित्वमा भएको प्रतियोगिता उद्धाटन सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उपाध्यक्ष रेखा चौधरी, कार्यपालिका सदस्य सरोज चौरसिया, थारु पत्रकार संघ नेपाल पर्साका सल्लाहकार ओमप्रकाश चौधरी, मून सनलाईट यूवा स्पोर्ट्स क्लब सुपौलीका अध्यक्ष रुपनारायण चौधरी, सल्लाहकार रामजन्म महतो थारुलगायतको सहभागिता रहको थियो ।आस्था नेपाल वीरगन्जको आयोजना तथा जिराभवानी गापाको सहयोगमा संचालित कार्यक्रममा थारु पत्रकार संघ नेपाल पर्साका सचिव दिपेन्द्र चौधरी, वडा सदस्य नन्दकिशोर साह, बसन्ती देवी, मावि सेढवाका प्रधानाध्यापक खेमराज महतो, कार्यपालिका सदस्य रुना देवी मुसहरले प्रतियोगिता सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।प्रतियोगिताको अन्तिम नतिजा बिहिवार सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
















