सिमरा,साविक विजेता टिम एनआरटी १-० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ ।‘बी’ डिभिजन क्लब वीरगन्ज यूनाईटेड संगको प्रतिस्पर्धामा एनआरटीका लागि एकमात्र निर्णायक गोल अशोक थापाले गरे । खेलको २९ औं मिनटमा कृतिश रत्नचुन्जुले डिबक्सभित्र निकालेको क्रस पासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए ।घरेलु दर्शकको समर्थन पाएको वीरगन्ज यूनाईटेड खेलमा केहि आकर्षक अवसर बनाए पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो । खेलको ४८ औं मिनटमा विवेक चौधरी वन भर्सेस वनको स्थितिमा चुक्नपुगे । विवेकको प्रहार गोल पोष्ट नजिकबाट बाहिरियो ।पहिलो हाफ नियन्त्रणमा लिएको एनआरटी विरुद्ध वीरगन्जले दोश्रो हाफमा सुधारिएको खेल प्रस्तुत ग¥यो । दोश्रो हाफको शुरुबाटै एनआरटी विरुद्ध आक्रामक खेल खेले पनि वीरगन्जले स्कोर बनाउन सकेन ।खेलको ५४ औं मिनटमा वीरगन्जले एनआरटी विरुद्ध बराबरी गोल गर्ने राम्रो अवसर गुमायो । वन भर्सेस वनको स्थितिमा वीरगन्जका कृपा गोल गर्न चुके । कृपाले पेनाल्टी एरियाबाट फितलो प्रहार गर्दा एनआरटीका गोल रक्षक पुजन होनाले सहज बचाउ गरे ।खेलको ७४औं मिनटमा वीरगन्जले अर्को आकर्षक अवसर गुमाएको थियो । निरज थापा मगरको क्रस बलमा सागर चौधरीको हेडर बल क्रस बारमा ठोक्किएर बाहिरिन पुग्यो । अन्तिम समयमा आक्रामक खेल खेलेको वीरगन्जले ८४औं मिनटमा अर्को अवसर गुमायो । निरज थापा मगरको क्रस पासमा कृपा चौधरीको हेडर बल एनआरटीका गोल रक्षकले उत्कृष्ट बचाउ गरे ।दोश्रो हाफको इन्जुरी समयको अन्तिम मिनटमा वीरगन्जले अर्को अवसर खेर फाल्यो । कृपा चौधरीले किपर समेत बिट गरिसकेको अवस्थामा गोल गर्न सकेनन् । पेनाल्टी एरियाबाट कृपाले गरेको प्रहार गोल पोष्ट नजिकबाट बाहिरिएको थियो ।प्रतिस्पर्धात्मक खेलमा एनआरटीले पनि केहि आकर्षक अवसर गुमाएको थियो । जसका कारण वीरगन्जविरुद्ध जित निकाल्न उसलाई अन्तिम समयसम्म कडा संघर्ष गर्नुपरेको थियो ।खेलको सातौं मिनटमा कृति रत्नचुन्जुको क्रस पासमा अशोक थापाको प्रहार गोल पोष्ट नजिकबाट बाहिरिएको थियो । खेलको ६४ औं मिनटमा अशोक थापाले किपर समेत बिट भइसकेको अवस्थामा गोल गर्न सकेनन् । उनको प्रहार वीरगन्जका डिफेण्डरले गोल लाईनबाट क्लिएर गरेका थिए ।एनआरटीलाई अन्तिम चारमा पु¥याउन निर्णायक गोल गरेका अशोक थापा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले दश हजार नगद सहित ट्रफी प्राप्त गरे ।प्रतियोगिताअन्तर्गत सोमबार सातदोबाटो युथक्लब र हिमालयन शेर्पाबीच तेश्रो क्वाटर फाइनल खेल हुनेछ ।