वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय बारा मातहतअन्तर्गत पर्ने इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले शनिवार वीरगञ्जबाट चितवनतर्फ जादैगरेको प्रदेश २–०३–००१ च ६२०३ नम्बरको पिकअप गाडीबाट अवैध प्याज बरामद गरेको छ ।बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेका अनुसार वीरगञ्जबाट चितवनतर्फ गइरहेको पिकअप ट्रकलाई प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका– ७ जीतपुरस्थित सडक खण्डमा रोकेर चेकजाँच गर्दा त्यसमा बिलबिजकभन्दा बढीको प्याज लोड रहेको पाइएको थियो ।चालकले प्याजको स्रोत खुलाउन नसकेपछि पिकअपसहित प्रहरीले ६० वटा बोरामा राखिएको झन्डै तिन हजार किलोग्राम प्याज नियन्त्रणमा लिएको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।नियन्त्रणमा लिइएको प्याजको अनुमानित मूल्य एक लाख ८१ हजार रुपैयाँ रहेको न्यौपानेले बताउनुभयो । पिकअप र प्याजलाई नियन्त्रणमा राखेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।

















