राजन कुमार बनिया
पोखरिया,पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५ वडा कार्यालयले सिलिन्डरसहितको ग्याँस चुल्हो वितरण गरेको छ ।
वडालाई धुवाँमुक्त वडा बनाउने योजनाअन्तर्गत वडा कार्यालयले ३६ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरी आइतवारदेखि हरेक घरधुरी परिवारलाई ग्याँस सिलिन्डर, ग्याँस चुल्हो, त्यसमा लाग्ने रेगुलेटरसहितको पाइप र लाइटर वितरण गर्न सुरु गरेको हो ।वडा नम्बर ५ मा कूल ५ सय ५ घरधुरी परिवारको बसोबास रहेको छ ।आइतवार पहिलो दिन सतवरीयामा एक कार्यक्रमको आयोजना गरी वडावासीलाई ग्याँस चुल्हो र सिलिन्डरसहितको सेट वितरण गरिएको वडा अध्यक्ष महेन्द्र महतोले बताउनुभयो । वडा अध्यक्ष महतो र नगरपालिकाका मेयर प्रद्युम्नप्रसाद चौहानको प्रमुख आतिथ्ययतामा आइतवार भएको कार्यक्रममा पूर्वमेयर दीपनारायणप्रसाद रौनियार, नेकपा एमाले पोखरिया नगर कमिटी अध्यक्ष विद्याञ्चल ठाकुर, एमालेका क्षेत्रीय अध्यक्ष राजेश्वरप्रसाद रौनियार लगायतको पनि उपस्थिति थियो ।

Leave a Reply