सिमरा,प्रथम बारा प्याब्सन अन्तरविद्यालय फुटबल प्रतियोगिता सोमबारदेखि सिमरामा सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) बाराको आयोजना र जनजागृती युवा क्लबको सहयोगमा प्रतियोगिता सुरु भएको हो ।
सिमरा रंगशालामा सुरु भएको प्रतियोगिता अन्तर्गत पहिलो दिन सिनियर र जुनियरतर्फको चार खेल सम्पन्न भएको छ । सिनियरतर्फको पहिलो खेलमा ब्राइटर एकेडेमीले शुभारम्भ एकेडेमीलाई ४–० ले पराजित गरेको छ । यसैगरी दोस्रो खेलमा मोर्डन एकेडेमी बिजयी भएको छ । मोर्डनले सेन्ट पिटर्स स्कुललाई ३–२ ले हराएको हो ।
जुनियरतर्फको पहिलो खेलमा शुभारम्भ एकेडेमीले शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुललाई १–० ले पराजित गरेको छ भने दोस्रो खेलमा रोज एकेडेमीले ब्राइटर एकेडेमीलाई ३–० ले पाखा लगाएको छ ।

















