निजगढ,निजगढ प्रहरीले लागुऔषध गाँजासहित एक महिला र दुई पुरूषलाई मंगलवार पक्राउ गरेको छ ।निजगस्थित पूर्वपश्चिम लोकमार्गको उनासी किलो पुलमा चेकजाँचको क्रममा साझ ४ बजे इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले पोखराबाट जनकपुरतर्फ जादै गरेको ग १ ख ९९२८ नम्बरको बसमा सवार धनुषा जिल्लाको ढल्केवर नगरपालिका वडा नम्बर ७ केमलीपुर बस्ने रामबली साहकी श्रीमती अन्दाजी ३० वर्षिय रामपुकारी साहलाई झोलामा ६ किलो ५ सय ग्राम गाँजा लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।बसमा गाँजा फेला परेपछि प्रहरीले पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नम्बर ८ बस्ने ४५ वर्षिय चालक कमल दमाई र सहचालक तनहँु जिल्ला व्यास नगरपालिकावडा नम्बर ११ बस्ने २१ वर्षिय अमित लम्साललाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरूषोतमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।यसैबीच मकवानपुर प्रहरीले १ सय ९० किलो गाँजासहित १२ जना पक्राउ गरेको छ । प्रहरीले १४४ किलो लागुऔषध गाँजासहित ६ जना र अरु ४७ किलो लागुऔषध गाँजासहित थप ६ जनालाई पक्राउ गरेको हो ।प्रहरीले सवारी जाँचको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी साधनबाट १९० किलो गाँजासहित त्यसमा संलग्नलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो ।चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५ च ३३८४ नम्बरको कार र प्र २–०३–००७ प ४७५४ नम्बरको मोटरसाइकललाई शंका लागि सुरक्षा जाँच गर्दा रातोमाटे चेकपोष्टमा ४७ किलो लागूऔषध गाँजा फेला परेको हो ।पक्राउ पर्नेमा कारमा सवार पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका– १४ का ४२ वर्षीय कन्हैयालाल महतो, २६ वर्षीय बिनोद मण्डल, वीरगञ्ज–१८ का २० वर्षीया दुसमेना खातुन र २१ वर्षीया पूजाकुमारी मण्डल र मोटरसाइकलमा सवार पर्सा जिल्लाको पटेरवा सुगौली गाउँपालिका–४ का २५ वर्षीय विनय चौधरी र पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका– १४ का ३९ वर्षीय विनोद पासवान रहेको प्रहरीले जानकारी दिएको छ ।त्यस्तै, डीएल १ जीसी ३०३५ नम्वरको ईण्डियन ट्रक चालक देश भारतको मोतिहारी जिल्ला गोबिन्द, बारा बस्ने ६५ वर्षीय लालबहादुर सहनी, डीएल १२ सीए ०५७८ नम्वरको स्कारपियोमा सवार पर्साको वीरगञ्ज महानगरपालिका–१३ बस्ने २५ वर्षीय सन्तोस गुप्ता, बाराको बिश्रामपुर गाउँपालिका वडा नम्वर–४ बस्ने २४ वर्षीय सुरज साह, २१ वर्षीय गौतमकुमार साह, पर्साको छिपहरमाई गाउँपालिका– ३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र २८ वर्षीय रमेश यादवलाई पक्राउ गरिएको कार्कीको भनाइ छ ।