काठमाण्डौं,प्रधानमन्त्री केपी शर्मा ओलीले साझा जिम्मेवारीसहित समावेशी विश्वव्यापी साझेदारीमार्फत समृद्धिको यात्रामा अघि बढ्न भूपरिवेष्टित मुलुकहरूलाई आग्रह गर्नुभएको छ ।उहाँले पूर्वाधार विकास र प्रविधिको सदुपयोगसहित नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा रूपान्तरण गर्ने सङ्कल्प पनि प्रस्तुत गर्नुभयो ।

तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको प्लेनरीसत्रमा अल्पविकसित (एलडिसी) मुलुकहरूको समूहका साथै नेपालका तर्फबाट मंगलवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गाढारूपमा क्षेत्रीय र अन्तरराष्ट्रियस्तरको सहकार्य बढाएमा समृद्धिको गन्तव्य पुग्न यी मुलुकका भूगोल लामो समयसम्म अवरोधक हुन नसक्ने स्पष्ट गर्नुभयो ।
जलवायु परिवर्तन र विपद् जोखिमका खतराका कारण भूपरिवेष्टितमुलुक प्रताडित भएको उल्लेख गर्दै उहाँले डिजिटल अर्थतन्त्रमा अग्रसर हुँदै समावेशी र अनुकूलन आर्थिक वृद्धिको यात्रामा दृढ सङ्कल्प र स्पष्ट योजना ल्याउन आवश्यक भएको बताउनुभयो ।


















