निजगढ,शहीद हिरालाल स्मृति प्रतिष्ठान सामुदायिक भवनको बिहीवार एक कार्यक्रमबीच शिल्यान्यास गरिएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले सामुदायिक भवनको शिल्यान्यास गर्नुभएको हो ।कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले शहीदहरुको वलिदानीले नै देशमा संघीयता र गणतन्त्र स्थापना भएको बताउनुभयो । उहाँले देशमा जहानीय राणा शासन विरुद्ध र त्यसपछिका अन्य सबै आन्दोलनहरुमा शहीदहरुले बलिदानी गरेकाले नै आफूहरु आज यो स्थानमा उभिएको पनि बताउनुभयो । ‘मधेस प्रदेश सरकार शहीदहरुको सम्मानको लागि सचेत छ, मुख्यमन्त्री यादवले भन्नुभयो, शहीदहरुको सम्मान गर्न नै प्रदेश सरकारले मधेस शहीद प्रतिष्ठन गठन गरेको छ ।’ उहाँले प्रतिष्ठनमार्फत शहीदको सम्मान निम्ति विभिन्न कार्यक्रम संचालन गरिने जानकारी दिदै मुख्यमन्त्री यादवले जनआन्दोलनका २०६२÷०६३ का शहीद हिरालाल गौतमको स्मृतिमा निर्माण हुन लागेको सामुदायिक भवनको निर्माण कार्यमा मधेस सरकारले सकेको सहयोग गर्ने पनि जानकारी दिनुभयो ।त्यसैगरी कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य मैनालीले शहीदको सम्मानको लागि निर्माण हुन लागेको भवन निजगढका सबै जनताको सम्पति भएको बताउनुभएको छ । उहाँले भवनको प्रयोग निजगढबासी जनताको हितमा प्रयोग हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।भवन निर्माण समितिका अध्यक्ष गोकुल घोरसाइनेको अध्यक्षतमा भएको सो कार्यक्रमा शहीद हिरालाल स्मृति प्रतिष्ठानका अध्यक्ष एकबहादुर श्रेष्ठले प्रतिष्ठानको उद्देश्य र गतिविधिको बारेमा बोल्नुभएको थियो । कार्यक्रमको संचालन प्रतिष्ठानका सहसचिव जयराम कुवरले गर्नुभएको थियो । शिल्यान्यास कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापामगर, वडा नम्बर ५ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल लागायत विभिन्न वडाका जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।निजगढ नगरपालिका वडा नम्बर ७ मा स्थानीय किरण श्रेष्ठले दान स्वरुप प्रदान गर्नुभएको १० धुर जमिनमा संघीय सरकारको तराई सम्बृद्धि कार्यक्रमअन्तर्गत ३० लाखको लागतमा भवन निर्माण हुन लागेको हो ।

Leave a Reply