राजन कुमार बानिया
पोखरिया,पर्साको पोखरिया नगरपालिकाको नगर उपप्रमुख स्तरीय योजना अन्तर्गत सामुदायिक विद्यालयका शिक्षक, बाल विकास र कर्मचारीहरुको सम्मान गरिएको छ ।पोखरियास्थित शिवमन्दिरको सभा हलमा भएको सो कार्यक्रममा नगरपालिकाका २५ वटा सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीसमेत गरि २ सय ४० जनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युमनप्रसाद चौहानले शिक्षकहरु भगवानको स्वरुप जस्तै भएकोले नगरपालिकाले सम्मान गरेको बताउनुभएको थियो । मानिसलाई अज्ञानताबाट ज्ञानको उज्यालोतर्फ लैजाने भएको हुनाले समाजको विकासमा शिक्षकहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको र जति सम्मान गरेपनि कम हुने पनि बताउनुभयो ।पोखरिया नगरपालिकाका सामुदायिक विद्यालयको शिक्षामा सुधार आएको दाबी पनि गर्नुभयो । ‘शिक्षा क्षेत्रमा धेरै नै सुधार भएको छ, उहाँले भन्नुभयो, यो सबै शिक्षकहरुको मेहनत र लगनशीलताको प्रतिफल हो ।’ उहाँले शिक्षामा अझै थप सुधार हुन जरुरी रहेको पनि बताउनुभयो ।
त्यसैगरी सम्मान कार्यक्रममा नगर उपप्रमुख रूबी ठाकुरले बालबालिकाको भविष्य शिक्षकहरुको हातमा हुनेभएकोले शिक्षकहरुले इमान्दारिताका साथ काम गर्नुपर्ने बताउनुभयो । उहाँले पनि पोखरियाको शिक्षा क्षेत्रमा सुधार आएकोले नगरपालिकाले विद्यालयका शिक्षक र कर्मचारीहरुको मनोवल उच्च पार्न सम्मान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।कार्यक्रम प्रमुख प्रसाशकीय अजय श्रीवास्तव, वडा अध्यक्ष लक्षमण साह, नौसाद आलम, किशोरी साह, नेकपा एमाले पोखरिया नगर अध्यक्ष विध्याञ्चल ठाकुर, नेपाल शिक्षक संघका सचिव विनोद गिरी, शिक्षा शाखा प्रमुख विजय झा, शिक्षा शाखा सहायक विनोद चौहान, शिक्षक दिपक ठाकुर, प्रअ ओमप्रकास रौनियार, प्रअ प्रबत ठाकुर, पारस ठाकुरलगायत नगरका सबै विद्यालयका शिक्षक, कर्मचारी तथा जनप्रतिनिधि, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।



















