पुष्पराज खतिवडा
मनहर्वा,नेकपा एमाले पालिटब्यूरो सदस्य एवंम बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदको उमेदवार ज्वाला साहले जनताको अभिमतको कदर गर्दै आफ्नो क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नछाड्ने मतदातासँग बाचा गर्नुभएको छ ।
जिल्लाका महिलाहरुको प्रतिनिधित्व गर्ने अवसरको लागि र यस क्षेत्रको विकासनिम्ति जनताले आफुलाई निर्वाचित गर्न पूर्वमन्त्री साहले विश्वास व्यक्त गर्नुभयो ।
नेकपा एमाले बारा क्षेत्र नं.३ प्रतिनिधिसभा उम्मेदवार साह तथा प्रदेशसभा ३ (क) सदस्य उम्मेदवार रविनदास श्रेष्ठले डुमरवानाका मतदातको घरदैलोमा यस्तो बाचा सहितको आग्रह गर्नुभएको हो ।
उमेदवारको घरदैलो कार्यक्रममा मतदाताको समेत उत्साहजनक सहभागिता रहेको थियो । देश र जनताको हितमा काम गर्ने भएकोले एमालेप्रति जनलहर बढेको क्षेत्र नं. ३ निर्वाचन परिचालन कमिटीका संयोजक अनीलकुमार मैनालीले बताउनुभयो ।
‘महिलाले चुलो र चौंको मात्रै गर्नुपर्छ भन्ने छैन । जनताका समस्या गरिबी र पछ्यौटेपनको अन्य गर्न समेत सक्छन् भन्ने उदाहारण पेश गर्नुपर्ने बेला आयो,” प्रतिनिधि सभा सदस्य उम्मेदवार साहले भन्नुभयो, गरिब परिवारकी छोरी अनी बुहारी हुँ । जनताका समस्या बुझेकी महिला छु । गरिबी दुःख केहो मलाई राम्ररी थाहा छ ।’ विकास गर्न योजनासँगै अनुभव र श्रोतको जानकारी चाहिन्छ । त्यस मानेमा आफु अब्बल रहेको र महिलाले गर्ने विकास दिगो हुने साहले बताउनुभयो । करिब साँढे ३ वर्ष प्रदेशसभा सदस्य हुँदा आफुले उल्लेखीय काम गरेको उहाँको भनाइ छ । ४ करोड ६० आयो तर संघ सरकारसँगको समन्वयमा ४५ करोडभन्दा बढी रकमको आफ्नो क्षेत्रमा काम गरेकै कारण जनताको रोजाइमा आफू परेको साहले बताउनुभयो । उहाँले निर्वाचनमा आफ्नो प्रतिस्पर्धामा कोही नभएको जिकिर पनि गर्नुभयो ।
यस्तै प्रदेशसभा सदस्य उम्मेदवार श्रेष्ठले घरदैलोमा जनताको अपार साथ सहयोग र माया पाइरहेको बताउनुभयो । ‘एमाले जनताको पार्टी हो, जनता एमालेका परिवार हुन्, उहाँले भन्नुभयो, जनताको सुःख दुःखमा साथ दिने पार्टी र तीनका उम्मेदवारलाई मतदाताले विजयी गराउँछन । यही कारणले कतिपय विपक्षीको दिमाग खराब भएको छ र एमाले उम्मेदवारप्रति मतदातामा भ्रम छर्ने कार्य भइरहेको छ ।’
निर्वाचनको समयमा फैलाइने अफवाहा र भ्रमबाट सजग रहेर मतदान गर्न श्रेष्ठले मतदातासंग आग्रह पनि गर्नुभयो ।