निजगढ,मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आध्यात्मिक कार्यको लागि निजगढका जनताले देखाएको एकता अनुकरणीय रहेको बताउनुभएको छ ।निजगढमा आश्रम निर्माण गर्ने उद्देश्यले मानव धर्म समाजले आयोजना गरेको महायज्ञमा बोल्दै बुधवार मुख्यमन्त्री यादवले सो कुरा बताउनुभएको हो । ‘स्थानीय राजनितिक दलका कार्यकर्ताहरुबीच आध्यात्मिक कार्यमा पनि एकता देखियो, मुख्यमन्त्री यादवले भन्नुभयो, विकास निर्माण लगायत अन्य कार्यमा पनि सबै दलका कार्यकर्ताहरु एक ठाउँमा उभिन जरुरी छ ।’उहाँले आश्रम निर्माणबाट कुनै एउटा धर्म विशेषका लागि मात्रै नभएर सबै मानिसले लाभ लिनसक्ने बताउदै त्यसको लागि आफूले पनि सकेको सहयोग गर्ने जनाउनुभयो । कार्यक्रममा आश्रम निर्माणको लागि ५० लाख रुपैया सहयोग गर्ने घोषणा उहाँले गर्नुभयो ।यसैबीच मुख्यमन्त्री यादवले बुधवार नै आश्रमको शिल्यान्यास पनि गर्नुभएको छ । मानव धर्म समाजको निजगढ नगरपालिका ९ स्थित प्रसुति टोलमा रहेको २ कठ्ठा जमिनमा निर्माण हुन लागेको आश्रमको धार्मिक विधिअनुसार मुख्यमन्त्री यादवले शिल्यान्यास गर्नुभएको हो ।शिल्यान्यास कार्यक्रममा बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकका प्रमुख सरथ पुरी, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, महायज्ञ आयोजक मुल समितिका अध्यक्ष अम्बिका चौलगाईलगायत स्थानीय बासिन्दा र मानव धर्म समितिका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
महायज्ञमा बुधवार साँझसम्म १ करोड ३० लाख रुपैयाभन्दा बढी दान रकम संकलन भएको आयोजक समितिकी सदस्य शान्ति ढुङ्गानाले जानकारी दिनुभयो ।मानव धर्म समाजको बारा जिल्लास्तरीय पक्की आश्रम भवन निर्माण गर्ने उद्देश्यले निजगढको शहीद चोकामा भइरहेको महायज्ञमा आचार्य राघव उपाध्ययाले श्रीमद् भागवत संगीतमय कथा वाचन गरिरहनुभएको छ ।



















