निजगढ,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थिति प्रभु बैंकअगाडिबाटएक जना जेष्ठ नागरिकको रकम लुट्ने दुई जना भारतीय नागरिकसहित चार जना पक्राउ परेका छन् ।गत असोज १ गते कलैया महानगरपालिका वडा नम्बर १ स्थिति प्रभु बैंकअगाडिबाट स्थानीय अन्दाजी वर्ष ७५ का जेष्ठ नागरिकको ५० हजार रकम लुटेर फरार बनेका लुटेराहरुलाई प्रहरीले आइतवार कलैयाबाट पक्राउ गरेको हो ।

बैंकबाट रकम निकालेर घरतर्फ जाने क्रममा मोटरसाइकलमा आएका भारत बिहारका सुरेशप्रसाद बानिया र रवि दास तथा कलैया उपमहानगरपालिकाका शर्मा मुखिया र शैलेश तिवारीले गत असोज १ गते जेष्ठ नागरिकको रकम लुटेका थिए । बैंकबाट रकम निकाल्न लागेको पूर्व सूचना प्राप्त गरेका उनीहरुले जेष्ठ नागरिकलाई पच्छ्याउदै बाटोमा घेरा हाली छुरा देखाएर रकम लुटेर फरार भएको प्रहरीले बताएको छ ।

अन्य सर्वसाधारणको पनि रकम लुट्ने योजना बनाएर भेला भएको अवस्थामा प्रहरीले भारतीय नम्बर प्लेटको बीआर २२ बीजे ३१६४ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । लुटपाटमा परेका जेष्ठ नागरिकको नाम भने सुरक्षाका कारण गोप्य राखेको प्रहरीले बताएको छ ।बैंकबाट निकालेको रकम लुटिएपछि खोजतलास तीव्र पारेको प्रहरीले अघिल्लो घटना भएको स्थानमा ती व्यक्तिहरु फेरि देखा परेको र अन्य मानिसहरूलाई समेत लुटपाट गर्ने योजना बनाइरहेको भन्ने सूचनाका आधारमा खटिएको विशेष प्रहरी टोलीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्त प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

Leave a Reply