वीरगञ्ज,वीरगञ्ज र आसपासका क्षेत्रमा केही दिनयता चापाकलहरू सुकेर खानेपानीको समस्या भएपछि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतकसमेत रहेका यादवले बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भेटेर वीरगञ्जमा उत्पन्न भएको खानेपानीको भयावहस्थिति बारे ध्यानाकर्षण गराउनुभएको हो ।त्यसक्रममा वन तथा वातावरण पूर्वमन्त्रीसमेत रहेका यादवले वीरगञ्ज र आसपासका क्षेत्रमा केही दिनयता चापाकल लगायतका पानीको प्राकृतिक श्रोत सुक्दै गएपछि खानेपानीको लागि समेत भयावह स्थिति उत्पन्न भएको प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउनुभएको हो । वीरगञ्जमा देखिएको पानीको समस्या समाधानका लागि सरकारका तर्फबाट तत्कालै पहल थाल्न उहाँले प्रधानमन्त्री प्रचण्डसँग आग्रह पनि गर्नुभयो ।आफूले समस्या राखेलगत्तै प्रधानमन्त्री प्रचण्डले सङ्घीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवलाई आफ्नो कार्यकक्षमा बोलाएर वीरगञ्जमा देखिएको पानीको समस्या समाधानका लागि तत्काल कदम चाल्न निर्देशन दिएको सांसद यादवले जानकारी दिनुभयो ।प्रधानमन्त्रीको निर्देशनअनुसार खानेपानी मन्त्री यादवले पनि वीरगञ्जमा देखिएको खानेपानीको समस्या छिटोभन्दा छिटो समाधानका लागि मन्त्रालयले मातहतका निकायहरूलाई तत्कालै काम अगाडि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको सांसद यादवले बताउनुभयो ।केही दिनअगाडि मात्रै सांसद यादवले पर्सा र मधेस प्रदेशका कृषकहरूले भोगिरहेको समस्याको बारेमा संसद्लाई जानकारी गराउँदै सिँचाइको व्यवस्थापन गर्न माग गर्नुभएको थियो ।

Leave a Reply