निजगढ,मौलापुर,बाराको निजगढ नगरपालिका र रौतहटको मौलापुर नगरपालिकामा कार्यरत कर्मचारीहरुले शुक्रवार देशव्यापी रुपमा मनाइने निजामति दिवस बहिष्कार गर्ने भएका छन ।प्रस्तावित संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको परिभाषा नसमेटिएको भन्दै कर्मचारहिरुले दिवस बहिष्कार गर्ने घोषणा गरेका हुन । निजगढका नगर प्रमुख सुरथ पुरीलाई बिहीवार ज्ञापन पत्र बुझाएर कार्यालयका कर्मचारीहरुले निजामति दिवस नमनाउने जानकारी दिएका छन ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत.राजमणी निरौलाको नेतृत्वमा कर्मचारीहरुले नगरप्रमुख पुरीलाई बुझाएको ज्ञापन पत्र राष्ट्रिव्यापी रुपमा मनाइने निजामति दिवस बहिष्कार गर्ने जानकारी गराएका छन । कार्यालयका सबै कर्मचारीहरुले हस्ताक्षर गरेर बुझाएको ज्ञापन पत्रमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुले प्राकृतिक रुपमा समेत निजामती दिवस मनाउन उपयुुक्त नदेखिएकोले भाद्र २२ गते मनाउदै आएको निजामती दिवस निजगढ नगरपालिकाको स्थानीय तहमा कार्यरत सम्पुर्ण कर्मचारीले बहिष्कार गर्नुको साथै विरोध स्वरुप कालो पट्टी बाध्ने उल्लेख छ । साथै प्रस्तावित संघीय निजामती ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीको परिभाषा समावेश गर्न जोड्दार माग गर्दछौं भनिएको छ ।त्यसैगरी मौलापुरबाट हाम्रा सम्वाददाता राजकुमार यादवले पठाएको समाचारमा अनुसार नेपालमा हरेक वर्षको भाद्र २२ गते मनाईदै आएको निजामती सेवा दिवस यस वर्ष मौलापुर नगरपालिकामा कार्यरत कर्मचारीहरुले बहिष्कार गर्ने भएका छन् ।संघीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति सुशासन, विकास र समृद्धिको आकाङ्क्क्षा पूरा गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने शासन प्रणालीको प्रशासनिक संरचनामा संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा भन्ने विभेदकारी नीति निर्माण गर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सेवा सुविधा, वृत्ति विकासको सुनिश्चित नभएको र प्रस्तावित निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरूलाई निजामती कर्मचारीको परिभाषामा नसमेटिएकाले मौलापुर नगरपालिकामा कार्यरत कर्मचारीहरुले निजामती सेवा दिवस बहिष्कार गर्ने निर्णय गरेका हुन् ।ऐनमा प्रस्तावित प्रावधानका कारण कर्मचारीहरू बीच विभेद सिर्जना भएकाले निजामती सेवा दिवस मनाउन उपर्युक्त नठानी विरोध स्वरूप कालोपट्टी बाँधेर विरोध जनाउने र स्थानीय कर्मचारीहरूको सेवासुविधा सम्बन्धी व्यवस्था नभएसम्म निजामती सेवा दिवस नमाउने संयुक्त विज्ञप्ति पत्र मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साह र नगर उपप्रमुख नागेन्द्र यादवलाई कर्मचारीहरुले बुझाएका हुन् ।देश संघीयतामा गएको वर्षौँ बितिसक्दा पनि निजामती सेवा ऐन जारी नहुँदा जनताको सबैभन्दा नजिक रहेर काम गर्ने स्थानीय तहमा कार्यरत कर्मचारी मर्कामा परेको तथा प्रशासनिक संघीयता नै धराशायी बनेको उनीहरुको ठहर छ ।मौलापुर नगरपालिकामा कार्यरत स्थानीय सेवाका कर्मचारीहरुको संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै निजामती सेवा दिवस नमनाउने निर्णय गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले जानकारी दिनुभयो ।निजामती सेवा दिवस नमाउने निर्णयका साथै उक्त ज्ञापन पत्रमार्फत विभिन्न माग राख्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराईएको छ । संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्वार स्थानीय सेवामा मात्र हुनुपर्ने, सरूवा प्रणालीलाई सहमतिका आधारमा नभई अनुमानयोग्य चक्रिय प्रणालीमा आधारित हुनुपर्ने, अन्तरप्रदेश सरूवाको व्यवस्था संघीय ऐनमा नै खुलाउनु पर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको हुनुपर्ने र स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग सहित प्रस्तावित संघीय निजामती ऐनको मस्यौदामा देहायका व्यवस्था समावेश गर्नका लागि मागहरु राखेका छन् ।