काठमाण्डौ – नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गतको समूहगत छलफल सकिएको छ । शुक्रवारदेखि चलिरहेको विधान महाधिवेशनमा शनीवार दुई हजार एक सय २६ प्रतिनिधिलाई १० वटा समूह बनाएर समुहगत छलफल गरेको हो ।समूहमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनमाथि छलफल गराइएको थियो । समूहमा धेरैलाई बोल्न दिइएको थिएन ।
प्रतिनिधिहरूले दिएको सुझावलाई आइतवार बस्ने बैठकमा समूह संयोजकले प्रस्तुत गर्नेछन् ।
फरक मत प्रस्तुतिमा रोक
काठमाण्डौं,पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने पार्टीको निर्णयमाथि असहमतिसहित फरक मत राख्ने नेता कर्ण थापाको तयारीमा नेतृत्वले रोक लगाएको छ । विधान महाधिवेशनको दोस्रो दिन थापा फरक मत वाचनका लागि मञ्चमा जानुभएको थियो ।

स्थायी कमिटी सदस्यसमेत रहेका नेता थापालाई फरक मत पढ्न दिने कार्यसूची शुक्रवार नै तय भएको थियो । तर शनीवार अध्यक्ष केपी शर्मा ओलीले वाचन गर्न रोक लगाउनुभएको हो । थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनेलगायतको विषय समेटिएको ३२ पृष्ठ लामो फरक मत तीन दिनअघि पार्टी केन्द्रीय कार्यालयमा पेश गर्नुभएको थियो ।
थापाको फरक मत महाधिवेशनमा प्रस्तुत गर्न नदिइए पनि प्रतिनिधिलाई वितरण भने गरिएको थियो । गोदावरीमा हिजोदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी कुल दुई हजार तीन सय ४१ जनाको सहभागिता छ ।



















