स्थानीय तहको चुनाव नजिकिदै छ । दलहरु चुनावी मैदानमा उत्रिएका छन् । अब चुनाव आउनका लागि धेरै दिन पनि बाँकी छैन । चैत महिना सकिए लगत्तै त उम्मेदवारहरु पनि टुंगिने संभावना छ र टुंगाउनु पनि पर्दछ तर जति चुनाव आउछ त्यत्ति नै खर्चको पिरलो पनि देखिन्छ ।
जोसंग खर्च छ उसका लागि त ठूलो कुरा भएन तर जोसंग छैन उसले चुनाव उठ्ने हिम्मत नगरे पनि हुन्छ । किनभने चुनाव एकदमै महँगो बन्दै गएको छ । अब त मतदातालाई पैसाले किन्न सकिन्छ भन्ने पनि परेको छ भने धेरैजसो मतदाता पैसाको पछि लाग्ने नै छन् । यसो भन्दा चित्त कसैको दुखे पनि सत्य यही हो । निर्वाचन आयोगले खर्च गर्नका लागि सीमा त तोकिदिएको छ तर त्यसमा कोही बस्ने देखिदैन ।
आयोगले तोकेको खर्चले चुनाव जितिदैन भन्नेमा दलहरु पनि ढुक्क छन् । त्यसैले पनि चुनावमा खर्च बढी नै हुने गर्दछ र अझै यो स्थानीय तहको चुनावमा त खर्च बढ्ने नै छ । यो व्यक्तिगत चुनाव जस्तो हो । गाउँ समाज घर वरपरकै ब्यक्ति चुनावमा उठ्ने भएकाले पनि मतको महत्व हुने हुँदा चुनावमा भने जसरी खर्च कटौतीको संभावना कमै देखिन्छ ।















