वीरगञ्ज,वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध कारबाहीको माग गर्दै सात वटा निकायमा जाहेरी तथा उजुरी परेको छ ।फर्जी विवरणको आधारमा रुविना श्रेष्ठलाई छोरी बनाएर नागरिकता दिलाएको भन्दै उहाँविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिइएको हो । मेयर सिंहविरुद्ध कारबाहीको माग गर्दै प्रधानमन्त्रीको कार्यालय सिंहदरवारदेखि लिएर गृह मन्त्रालयसम्म तथा पर्सा जिल्ला प्रशासन कार्यालय, पर्सा प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सीआइबी तथा राष्ट्रिय सतर्कता केन्द्रसम्म उजुरी परेको हो ।अरुको छोरीलाई आफ्नो छोरी बनाएर नागरिकता दिलाएको भन्दै पर्साका स्थानीय तथा कांग्रेस समर्थकहरुले पहिलो पटक पुस २४ मा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका थियो । पर्सा प्रहरी प्रमुख कोमल शाहले मेयर सिंहसहित २ जनाविरुद्ध फौजदारी अपराध अन्तर्गत जाहेरी परेको जनाउँदै त्यसमाथि छानबिन भइरहेको बताउनुभएको छ ।त्यसैगरी नागरिकता प्रकरणबारे यही साताभित्रै सत्यतथ्य छानबिनको माग गर्दै गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालयमा समेत उजुरी दिइएको छ ।गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पर्साका नेताहरुले भेटघाट गर्दै सत्यतथ्य छानबिनको माग गर्दै उजुरी दिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । गृहमन्त्री श्रेष्ठले उजुरी बुझ्दै मेयर सिंहले दिलाएको नागरिकताबारे छानबिन गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएको बताइएको छ ।
पर्साका नेताहरुसँगको भेटमा गृहमन्त्री श्रेष्ठले दोषी देखिए कारबाही हुने प्रतिबद्धता जनाएको भेटमा सहभागी स्रोतले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले समेत मन्त्रालयमा उजुरी परेको र त्यसमाथि सत्यतथ्य बुझ्ने काम भइरहेको जनाएका छन् ।