निजगढ,नेपाल मानव कल्याण आश्रमको सेवा घर संचालनको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले आइतवार एक कार्यक्रम बीच निजगढका विभिन्न संघसंस्था र निजी प्रतिष्ठानलाई दानपेटिका हस्तान्तरण गरिएको छ ।निजगढ ७ स्थित सगरमाथा सहकारी संस्थाको सभा हलमा भएको कार्यक्रममा आश्रमका सचिव विजय पोखरेल र अभियान्ता रोशन ढकालले निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, सगरमाथा सहकारी संचालक समितिका अध्यक्ष भोलाप्रसाद गौतम, होली एन्जलेस स्कुलका संस्थापक नारायण शर्मा, विद्या सागर बोडिङ्ग स्कुलका कैलाश केसी, गौरीशंकर मावि सडकटोल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटा र निजगढस्थित सुपरमार्टका संचालक अमृत तिमल्सिनालाई दानपेटिका हस्तान्तरण गर्नुभएको हो ।संघसंस्थाहरुले बुझेको दानपेटिका आआफ्नो कार्यालयमा राख्ने र इच्छुक महानुभावले गच्छे अनुसारको रकम दान गर्नसक्ने बताइएको छ ।हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख सुरथ पुरीले मानवीय सेवामा समर्पित मानव कल्याण आश्रमको सेवा घरमा आश्रय लिएर बसेकाहरुको सुविधाको लागि दानपेटिकामार्फत संकलन गरिने रकमले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । उहाँले थोरै भएपनि धेरै जनाले गरेको दानबाट आश्रम संचालनमा मद्दत पुग्ने बताउनुभयो ।त्यसैगरी संस्थाका सचिव पोखरेलले दान पेटिकामा सर्वसाधारणले स्वच्छिक दान गर्नसक्ने बताउनुभयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शन कोइराला, गौरीशंकर मावि निजगढ ८ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि बर्तौला, प्रधानाध्यापक बद्रीनारायण झा, समाजसेवी ज्ञानेन्द्र चौलागाईलगायतले दानपेटिकाबाट संकलन भएको रकमले सेवा घर संचालनमा टेवा पुग्ने बताउनुभएको थियो ।निजगढ ४ स्थित पुरानोटोलमा संचालनमा रहेको मानव कल्याण आश्रमको सेवा घरमा हाल २ जना बालबालिकासहित ३३ जना सडक मानवहरुले आश्रय लिएका छन । आश्रममा बस्नेहरुको लागि संस्थाले खाना, लत्ताकपडा र स्वास्थ्य उपचार तथा अन्य सुविधा उपलब्ध गराउदै आएको छ ।१ वर्षदेखि संचालनमा रहेको सो सेवा घरले निजगढबाट हालसम्म ६५ जना सडक मानवको उद्धार गरेको बताइएकोछ । उनीहरुमध्ये ३२ जनाको घर र ठेगाना पहिचान गरी पारिवारिक पुर्नमिलनसमेत गराइएको सचिव पोखरेलले जानकारी दिनुभयो ।

 

Leave a Reply