कोरोना भाइरस नियन्त्रण रोकथामको लागि वीरगन्जमा पहिलो मोर्चामा रहेर काम गर्दै आउनुभएका वीरगंज उपमहानगरपालिकाका मेयर बिजय सरावगीमा कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणका कारण विश्व नै अहिले आक्रान्त छ । संसारभर अहिले कोरोना महामारीका कारण हरेक क्षेत्र संकटतर्फ उन्मुख हुदै गएको छ ।

उद्योग कलकारखानादेखि दैनिक ज्याला मजदुरी गरेर जीवन यापन गर्ने मजदुरहरुदेखि ठुला व्यवसायी र प्रशासकहरुसमेत यसबाट अछुतो छैनन । तर विपन्न वर्गका दैनिक ज्यालादारी गरेर गुजारा चलाउनु पर्ने मजदुहरु कोरोना माहामारीका कारण सर्वाधिक रुपमा यसको चपेटामा परेका छन् । अहिले विश्वको अर्थतन्त्र नराम्रोसंँग प्रभावित हुनपुगेको छ ।

पिछडिएका मुलुक मात्र होइन अति सम्पन्न मुलुकहरुसमेत कोरोना महामारीको चपेटामा परेपछि यसबाट पार पाउन विभिन्न उपाय अवलम्वन गरेपनि अहिलेसम्म यसबाट सफलता हात पार्न सकिएको छैन । विश्व स्वास्थ्य संघठनले यसको स्थायी रोकथामको लागि अझै एक वर्ष लाग्नसक्ने आकलन गरेको छ । कोरोना भाइरस विरुद्धको खोप बनाउन संसारभरका वैज्ञानिकहरु जुटेपनि अहिलेसम्म आशाअनुरुप सफलता देखा परेको छैन ।

यस्तो अवस्थामा कोरोनाबाट बच्ने उपाय भनेको लकडाउन नै हो । संसारभर लामो समयसम्म मुलुकहरुलाई लकडाउनमा राख्ने काम नभएको पनि होइन तर महिनौंसम्म लकडाउन गर्दा मुलुकको आर्थिक अवस्था बिग्रदै गएपछि मुलुकहरुले लकडाउन खुकुलो बनाउँदै लैजान थालेका छन र यसले जोखिम पनि बढाएको देखिन्छ । नेपालको सन्दर्भमा लकडाउन खुकुलो बनाएपछि कोरोनाको संक्रमण समुदायमा विस्तारै प्रवेश गर्न थालेको अनुमान छ ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या घटेकोजस्तो देखिएपनि भित्रभित्रै यसले समुदायमा प्रवेश पाउन थालेको छ । सरकारले मुलुकबाट लकडाउन हटाएको घोषणा गरेसंँगै मुलुक अहिले चलायमान भएको छ । तर यससंँगै कोरोना संक्रमण घनवस्ति भएको समुदायमा विस्तारै प्रवेश गरेको देखिन्छ । अहिले राजधानी काठमाण्डौंं उपत्यका लगायत मुलुकका मुख्य शहरहरुका कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएको छ ।

सरकार र विज्ञहरुले कोरोनाबाट बच्न अवलम्वन गर्नुपर्ने उपायको बारेमा हरेक दिन जनस्तरमा फैलाउँदै गएपनि जनतामा भने अझै चेतना विकास भएको पाइँदैन । मास्कको प्रयोग अनिवार्य बनाइएको भएपनि अहिले हुलमुलमा हिड्ने कैयन मानिस बिनामास्क हिडिरहेका छन । अहिले बाहिरफेर हिडडु्ल गर्ने र भिडभाडमा बसेर व्यवसाय गर्ने मानिसहरु सबै भन्दा बढी कोरोनाको जोखिममा परेका छन ।

हिजो विदेशबाट स्वदेश फर्केका व्यक्तिमा मात्रै सीमित रहेको कोरोना संक्रमण अहिले अन्यमा पनि देखा पर्न थालेको छ । कतिपय घटनामा त यात्रा–इतिहास नभएका व्यक्तिमा समेत संक्रमण देखिन थालेपछि कोरोना समुदायमा फैलिएको संकेत मिलेको छ ।

Leave a Reply