सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ उचिडीका एक किसानले पालेको एउटा खसी ८६ हजार रुपैंयाँमा बिक्री भएको छ ।
स्थानीय किसान सोमन अधिकारी वाग्लेले डेढ वर्ष अघि १७ हजार रुपैंयाँमा किनेर पाल्नु भएको जमुनापारी जातको खसी अहिले ८६ हजार रुपैंयामा बिक्री भएको हो । सो खसी भारतीय शहर घोडासनका नागरिकले किनेका हुन् । जिउँदो जोख्दा १ सय किलो भएको खसीको प्रतिकेजी ८६० रुपैंयाँका दरमा मोल टुङ्गो लगाइएको हो ।
वाग्लेले अन्य तीन वटा खँसी समेत पाल्नु भएको छ । त्यसमध्ये एउटा जमुनापारी र दुई वटा बोयर जातका छन् । तीन वटा खसी न्युनतम ६० केजीका छन् । डालेघाँससँगै कुखुराको दाना, खोले÷पानी खुवाएर खसी स्याहार गरेको वाग्लेले बताउनुभयो । वाग्लेका अनुसार गत वर्ष पनि उहाँले पालेको एउटा खसी ६७ हजारमा बिक्री भएको थियो ।
धेरै खसी पाल्दा स्याहार गर्न समस्या हुने र राम्रो पैसा पनि नपाइने भएकाले अन्य पशुसँगै ४÷५ वटा खसी पाल्दै आएको उहाँले बताउनुभयो । एउटा दुहुनों गाईसँगै पालिएका खसी राम्रो मुल्यमा बिक्री गरेर घर खर्च चलाउन सहयोग पुग्ने गरेको उहाँले बताउनुभयो ।