निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ स्थित नदीकट्टामा आइतवारबाट तेस्रो वाक्यश्वर मेला शुरु भएको छ ।बाला चर्तुदर्शी पर्वको अवसरमा लागेको सो मेलाको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले आइतवार साँझ उद्धाटन गर्नुभएको हो । उद्धाटन कार्यक्रममा बोल्दै सांसद मैनालीलाई धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्ने अवसरको रुपमा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले निजगढको नदीकट्टा क्षेत्र विकासको दृष्टिले पछि परेको भएपनि यसको शंभावना अधिक रहेको बताउनुभयो । नदीकट्टाबाट कोल्हबी जोडने सडक र पुल निर्माण गर्नसके यस क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाई थियो ।कार्यक्रममा मधेस प्रदेशको प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका पूर्व नगर प्रमुख सुरेश खनाल, नेपाली काग्रेशका नेता शम्भुबहादुर बुढाथोकीलगायतले बोल्नुभएको थियो ।
बाला चर्तुदर्शी पर्वको अवसरमा विगत ३ वर्षदेखि वाक्यश्वर महादेव मेला समितिको आयोजनामा लाग्दैआएको मेलामा सांस्कृतिक कार्यक्रमसहित व्यापरिक र खेल तमासका स्टल पनि राखिएकाछन । यो वर्ष पनि मेलामा लोकप्रिय राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति दिने भएका छन । मेलामा धिरज राई, आर के खत्री, महेश काफ्ले, बिन्दु परियार लगायतले गायन प्रस्तुती दिनेछन् भने कोहिनुर डान्स ग्रुपले भोजपुरी र बेली नृत्य प्रस्तुत गर्नेछन् । त्यसैगरी लोक गायिका प्रमिला आले र अजित लोप्चनको दोहोरी ब्याटल प्रस्तुत हुनेछ ।मन्दिर परिसरमा स्थापना गरिएको १०८ शिवलिङ्ग यहाँको अर्को आकर्षणको पक्ष हो । बेलायत बस्दै आएका निजगढ वडा नम्बर ९ का दिपेन्द्र श्रेष्ठले आफ्नी स्वर्गीय आमाको स्मृतिमा वाक्केश्वर महादेव मन्दिरको प्राङगणमा तेजेश्वर महादेवसँगै शिवलिङ्गको स्थापना गर्नुभएको हो ।शिवलिङ्ग स्थापनाले निजगढलाई स्थानीय र गाउँबाहिरका श्रद्धालुहरुको लागि तीर्थस्थलको रुपमा विकास गर्न मद्दत पुग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजन श्रेष्ठले बताउनुभएको छ ।मेला परिसरमा रातभरि जाग्रम बसेर मृतक आफन्तको स्मृतिमा बत्ति बाल्ने गर्दछन । यो वर्ष पनि बत्ति बाल्न सयौं भक्तजनहरु सहभागी बनेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।



















