वीरगन्ज,पर्साको पोखरीया नगरपालिका वडा नम्बर ६ मा रहेको महोबनी पद्म माविमा शनिबार राति चोरी भएको छ । पोखरिया बजारबाट करीब ३ किमी टाढा रहेको विद्यालयको एक थान कम्प्युटर र डेस्कटप लगायतको सामाग्री चोरी भएको हो । आइतबार बिहान विद्यालयका कार्यालय सहयोगी विद्यालय हेर्न जाँदा कार्यालयको ताल्चा काटेर ढोका खुल्ला रहेको देखेपछि उहाँले प्रधानाध्यापकलाई खबर गर्नुभएको थियो ।
चोरले हेक्सो ब्लेडको प्रयोग गरेर ताल्चा काटेको र कार्यालयमा रहेको कम्प्युटर र सिपियु जस्ता उपकरण लगेको पाइएको प्रधानाध्यापक लालबाबुप्रसाद चौहानले जानकारी दिनुभयो । उहाँले विद्यालयको कागजात, प्रिन्टर लगायतका सामानहरु भने दराजभित्र रहेकोले सुरक्षित रहेको समेत जानकारी दिनुभयो । चोरीबाट विद्यालयमा ५० हजार बराबरको क्षति पुगेको समेत उहाँले जानकारी दिनुभयो । चोरीको घट्नाबारे प्रहरी र नगरपालिका कार्यालयलाई समेत जानकारी गराइएको प्रधानाध्यापक चौहानले बताउनुभयो । महोबनी पद्म मावि पर्साको त्रिजुद्ध मावि पछिको दोस्रो पुरानो विद्यालय हो । हाल कोरोनाको दोस्रो लहरका कारण सरकारले विद्यालय बन्द गरेसंगै गत वैशाखको दोस्रो सातादेखि विद्यालय बन्द रहेको छ ।