निजगढ,निजगढ नगरपालिकामा पनि ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान शुरु भएको छ ।नगरपालिका कार्यालयमा एक समारोहबीच हस्ताक्षर संकलन कार्यक्रममार्फत अभियानको शनिवारबाट प्रारम्भ गरिएको हो । कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौला, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, निजगढस्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघ÷संस्था÷समूहका प्रमुख तथा प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारी, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको छ ।अभियानको सन्दर्भमा सरकारी र गैरसरकारी क्षेत्रबाट देशभरि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सन्चालन हुँदैछन् ।यसैबीच अभियानका सन्दर्भमा भिडियो सन्देशमार्फत् प्रधानमन्त्री पुष्पकमल दाहालले सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै महिलामाथि हुने हिंसाको अन्त्य हुने बताउनुभएको छ । ‘लैंगिक हिंसा व्यक्ति वा परिवारको मात्रै समस्या होइन, यो हाम्रो राजनीतिक प्रणाली, सामाजिक संरचना र देशले अवलम्बन गर्ने सबै खाले नीतिहरुसँग गाँसिएको छ । सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै हामीले महिलामाथि हुने सबै खाले हिंसाको अन्त्य गर्न सक्नेछौँ,’ प्रधानमन्त्री दाहालले भन्नुभएको छ ।उहाँले नेपालमा लामो संघर्षपछि समावेशी समानुपातिक राजनीतिक प्रणाली स्थापित भएपनि अझै थुप्रै कार्यहरू बाँकी रहेको बताउनुभयो ।


















